निर्जीवन बीमा कम्पनीहरूले कुन प्रदेश र बीमालेखबाट कति गरे बीमाशुल्क आर्जन?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
कम्पनीहरूले देशभरका ७ प्रदेशमध्ये बाग्मती प्रदेशबाट सर्वाधिक ८ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट १ अर्ब १० करोड ४६ लाख रुपैयाँ, कोशी प्रदेशबाट १ अर्ब ४ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरका छन्। त्यसैगरी मधेश प्रदेशबाट ८५ करोड २३ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ६५ करोड १० लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट २८ करोड ९८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सबैभन्दा कम ११ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ।

यीमध्ये सबैभन्दा बढी मोटर बीमाबाट ४ अर्ब २६ करोड १९ लाख रुपैयाँ, सम्पत्ति बीमाबाट ३ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ र क्रमशः इन्जिनियरिङ्ग तथा ठेक्का जोखिम बीमाबाट १ अर्ब ६० करोड ३६ लाख रुपैयाँ, विविध बीमाबाट १ अर्ब ४८ करोड १३ लाख रुपैयाँ, सामुन्द्रिक बीमाबाट ७४ करोड ५ लाख रुपैयाँ, हवाई बीमाबाट ५१ करोड ६९ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबाट ४९ करोड ९३ लाख रुपैयाँ र लघु बीमाबाट २७ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएका छन्।
कम्पनीहरूले जारी गरेको कुल बीमालेख संख्या हेर्ने हो भने बागमती प्रदेशमा ३ लाख ६७ हजार ९३४ बीमालेख, लुम्बिनी प्रदेशमा १ लाख २५ हजार ८३३ बीमालेख, कोशी प्रदेशमा ८९ हजार ५४७ बीमालेख, मधेश प्रदेशमा ७८ लाख ४३४ बीमालेख, गण्डकी प्रदेशमा ६८ लाख ७२१ बीमालेख, सुदूरपश्चिम प्रदेशमा ३६ हजार ९२१ बीमालेख र कर्णाली प्रदेशमा १३ हजार २२३ वटा बीमालेख गरी कुल ७ लाख ८० हजार ६१३ वटा बीमालेख जारी भएका छन्।













