राष्ट्रपति पौडेल स्वदेश आगमन, साँझ आइपुग्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मंलगबारदेखि शुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलन’मा सहभागी भएर स्वदेशका लागि प्रस्थान गरेका छन्।
उनलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, कतारको विदेश मन्त्रालय र नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गरेका छन्।
उनले सम्मेलनमा भाग लिंदै सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण गरीबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गरेका थिए।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग शिष्टाचार भेट गरेका थिए। उनी प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा गएका थिए। उनी आज साँझै नेपाल आइपुग्ने सचिवालयले जनाएको छ।













