कर अधिकृत र ठेकेदार मिलेर १ करोड २३ लाख भ्याट छली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (अख्तियार) राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार ५१ रुपैयाँ (भ्याटबाहेक)मा ठेक्का सम्झौता गरेको थियो। सो ठेक्काअनुसार कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा कर अधिकृत आले र कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतसँग मिलेमतो गरी भ्याट रकम अनियमितता गरिएको आयोगले जनाएको छ।
सोही घटनामा संलग्न रहेको ठहर गर्दै तत्कालीन कर अधिकृत आले र निर्देशक बस्नेत विरुद्ध उति नै १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो कायम गरी जरिवाना तथा कैद सजायको मागदाबी सहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।














