तीन महिनामा कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, अन्य सूचकमा कस्तो छ वित्तीय प्रगती?

काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले तीन महिनाको अवधिमा अधिकांश सूचकमा सुधार देखिएको हो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सो अवधिसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ उक्त आम्दानी गरेको थियो।
बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
तीन महिनाको अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेर ८४ करोड ९१ लाख, कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशतले बढेर ४ अर्ब २१ करोड, इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
यता, चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक छ । निक्षेप संकलन ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ र कर्जा परिचालन २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ । वितरणयोग्य नाफा भने ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।













