हिमालयन बैंकको मुनाफा ७० करोडः खराब कर्जा बढेर ७.३९ प्रतिशत, अन्य सूचक कस्ता ?

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको हो ।
बैंकको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा भने ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यता, बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ ।
तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।













