सिद्धार्थ बैंकको नाफासहित ईपीएसमा गिरावट, अधिकांश सूचक खुम्चियो

२१ कार्तिक २०८२, शुक्रबार ०७:१८

काठमाडौँ । वित्तीय रुपमा कमजोर हुँदै गएको सिद्धार्थ बैंक थप संकटको बाटोमा अघि बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचक कमजोर हुँदै गएको देखिएको हो ।

बैंकको नाफामा समेत गिरावट देखिएको छ । तीन महिनाको अवधिमा बैंकको नाफा १५.१७ प्रतिशतले घटेर ३२ करोड ४० लाख रुपैयाँमा सीमित भएको हो । उक्त नाफा अन्य वाणिज्य बैंकको तुलनामा निकै कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा समेत ओरालो लागेको छ । यसअवधिमा बैंकको सञ्चालन नाफा ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५०करोडमा खुम्चिएको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

बैंकको खु्द ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा समेत उच्च छ । समिक्षा अवधिसम्ममा बैंकको खराब कर्जा ३.८० प्रतिशत रहेको छ ।

कम्पनीको चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यता, जगेडा कोष भने १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा आइपुगेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी समेत घटेको छ । बैंकको प्रतिशेयर आम्दानी १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पु्गेको छ । प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ ।

सुन्दर प्रसाद कडेलको नेतृत्वमा रहेको बैंक पछिल्लो समय वित्तीय रुपमा कमजोर हुँदै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*