स्वरोजगार लघुवित्तको नाफा ३७ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?

२४ कार्तिक २०८२, सोमबार ०७:५८

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा ३७.५२ प्रतिशत खुद नाफा कमाएको छ।

कम्पनीले गत आवको असोज मसान्तसम्म ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको असोज मसान्तसम्म ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

कम्पनीको खुद ब्याज आम्दानी पनि १२ करोड ७९ लाख रुपैयाँबाट बढेर १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४ करोड ५४ लाख रुपैयाँबाट बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १५ करोड ७ लाख रुपैयाँबाट बढेर १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ। योसँगै प्रतिशेयर आम्दानी (वार्षिकीकरण) २१.९५ रुपैयाँबाट बढेर २५.८४ रुपैयाँ पुगेको छ।

कम्पनीको खराब कर्जा पनि ५.४३ प्रतिशतबाट बढेर ७.३७ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ १६५.९६ रुपैयाँ रहेको कम्पनीले ९ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब ६८ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २२ करोड २६ लाख रुपैयाँ र रिजर्भ कोषमा २९ करोड ४४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*