हिमालयन बैंकको मोबाइल बैंकिङ सेवा २२ दिनदेखि ठप्प, रमिता हेर्दै राष्ट्र बैंक

दिपक विष्ट
२४ कार्तिक २०८२, सोमबार १५:३०

काठमाडौँ । जब तपाईंको बैंक खातामा रहेको पैसा महिनौसम्म आफ्नो पहुँच बाहिर गए के गर्ने हुन्छ ? नेपालकै पुरानो र प्रतिष्ठित भनिने हिमालयन बैंकले यही अवस्था सिर्जना गरेको छ। कात्तिक ३ गतेदेखि सुरु भएको कोर बैंकिङ स्तरोन्नतिको ‘सिस्टम अपग्रेड’ अहिले बैंककै लागि कलंक बनेको छ। २२ दिनदेखि लाखौं ग्राहकको मोबाइल बैंकिङ नचल्दा आफ्नो खातामा रहेको रकम प्रयोग गर्न असमर्थ छन् तर बैंकका अधिकारीहरू भने चुपचाप बसेका छन्।

नेपालको बैंकिङ इतिहासमा अहिलेसम्म यस्तो लामो समयसम्म सेवा ठप्प भएको उदाहरण विरलै देखिएको छ । हिमालयन बैंकले गत असोज ३१ गते एक सूचना जारी गर्दै कात्तिक ३ गतेदेखि १० गतेसम्म टी–२४ रिलिज आर–२३ सफ्टवेयरमा स्तरोन्नति गर्ने बताएको थियो । सूचनामा एटीएम, मोबाइल बैंकिङ, अनलाइन सेवा र शाखागत कारोबार अस्थायी रूपमा बन्द हुने भनिएको थियो । तर, भनिएको समयभित्र सेवा सञ्चालन त परै जाओस् अहिले कात्तिक २४ गतेसम्म पनि ग्राहकले मोबाइल बैंकिङ प्रयोग गर्न सकिरहेका छैनन् । कतिपय शाखामा सामान्य नगद कारोबार भइरहे पनि डिजिटल माध्यमबाट कारोबार गर्ने प्रणाली अझै पूर्णरूपमा ठप्प छ ।

बैंकले हजारौं ग्राहकको दैनिक जीवन यसले अस्तव्यस्त बनाएको छ । कतिपयले अस्पतालमा उपचार खर्च तिर्न नसक्दा अप्ठ्यारो भोग्नुपरेको छ, विद्यालय शुल्क बुझाउन समस्या परेको छ, पसल र व्यवसायिक कारोबार रोकिएको छ । धेरै ग्राहकले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन् ‘हामीले आफ्नो पैसा बैंकमा सुरक्षित राख्यौं तर अहिले त्यो पैसा हाम्रै लागि बन्धक बनेको छ ।’ कतिपयले खाता नै बन्द गर्ने चेतावनी दिएका छन् ।

डिजिटल प्रविधिको युगमा बैंकिङ सेवा यसरी लामो समयसम्म अवरुद्ध हुनु केवल प्रविधिक कमजोरी होइन संस्थागत लापरबाही र कमजोर व्यवस्थापनको परिणाम हो । बैंकको प्रवन्धक तहको असक्षम नेतृत्वले अहिले सम्पूर्ण ग्राहकलाई संकटमा पारेको छ । बैंकका सीईओ अशोक राणा र प्रताप जंग पाण्डेको नेतृत्वमा आएको व्यवस्थापकीय अव्यवस्था अहिले बैंककै विश्वसनीयतालाई धराशायी बनाइरहेको छ । बैंकभित्रको निर्णय प्रणाली संस्थापक समूहको प्रभावमा सीमित भएको, पारदर्शिता कमजोर भएको र जिम्मेवारी बोध हराएको कुरा अब ग्राहकले खुलेर भन्न थालेका छन् ।

यसविषयमा जानकारी लिन बैंकका प्रवक्ता सुनिल प्रसाद गोर्खालीलाई पटक-पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । यस्तो गम्भीर अवस्थामा प्रवक्ताले प्रतिक्रिया नदिनु बैंकको गैरजिम्मेवारीको अर्को उदाहरण बनेको छ । ग्राहकको समस्या सुन्ने सट्टा टार्ने र मौन बस्ने बैंकको प्रवृत्तिले संस्थाप्रतिको विश्वास झनै कमजोर बनाएको छ ।

नेपाल राष्ट्र बैंकको भूमिकामाथि पनि अहिले गम्भीर प्रश्न उठ्न थालेका छन् । नियामक निकायले बैंकिङ प्रणालीको स्थायित्व र ग्राहकको हितका लागि निगरानी गर्नुपर्ने हो । तर जब देशकै ठूला बैंकमध्ये एक २४ दिनसम्म ग्राहकको पैसा ‘फ्रिज’ गरेर बस्छ बस्दा समेत बैंन्द्रिय बैंक मौन रहेको छ ।

हजारौं व्यक्तिले राष्ट्र बैंकको भुमिकामा प्रश्न उठाउँदा समेत केन्द्रिय बैंक रमिता हेर्दै बसेको छ । राष्ट्र बैंक न त कारबाही गर्छ, न त चेतावनी दिन्छ । नियमन गर्ने संस्था नै मौन हुँदा बैंकिङ क्षेत्र अराजक बन्दै गएको छ ।

यता, राष्ट्र बैंकका उपप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपाने भने यस विषयमा हिमालयनसँग स्पष्टीकरण लिएको बताउँछन् । उनले भने, ‘लामो समय बैंकिङ सेवा अवरुद्ध भएपछि ग्राहकका गुनासा निकै बढ्दै गए । त्यसपछि हामीले बैंकका सम्बन्धीत ब्यक्तिलाई बोलाएर यस बारे जानकारी र छलफल गरेउ । तत्काल सुरु गर्ने निर्देशन समेत सोहि समयमा दिएका थियौ । साथै ग्राहकलाई जानकारी दिन समेत भनेका थियौ । सो पश्चात केहि सेवा सुरु भइसकेका छन् । अझै केहि सेवाहरु सुरु गर्ने भने प्राविधिक समस्या आइपरेको बताइएको छ ।’

लामो समय बैंकिङ सेवा अवरुद्ध हुनु निकै आपत्तिजनक कुरा रहेको न्यौपानेले बताए । ‘अहिलेको समयमा बैंकिङ सेवा अवरुद्ध हुनु आपत्तिजनक कुरा हो । अझ अनलाइन सेवा त अझै सवेदनशिल विषय पनि हो । अस्पतालजस्ता कयौ क्षेत्रमा यो अति आवश्यक कुरा समेत हो । बैंकलाई हामीले बेला बेला निर्देशन र छलफल गरि रहेका छौं । प्राविधिक समस्यालाई केहि गर्ने सकिने अवस्था भएन । तर, पूर्वतयारी गर्नु पर्ने हो त्यो पनि आवश्यक भन्दा बढी समय जान पुग्यो । बैंकले छिटो सेवा सञ्चालनमा ल्याउनु पर्छ’ उनले भने ।

देशभरका साना वित्तीय संस्था र सहकारीहरूले पनि मोबाइल बैंकिङ र डिजिटल भुक्तानीमा अगाडि बढिरहेका बेला हिमालयनजस्तो ठूला बैंकको यस्तो हालतले सम्पूर्ण बैंकिङ क्षेत्रमा नै अविश्वास फैलाएको छ । आजको डिजिटल नेपालमा जब साना भुक्तानीदेखि ठूला कारोबारसम्म सबै मोबाइलमा अटाइरहेका छन् त्यही बेला हिमालयन बैंकले आफ्ना ग्राहकलाई कागज र कलमको युगमा धकेलेको छ । यस्तो बैंकलाई ‘प्रविधि–मैत्री’ भन्ने कि ‘ग्राहक–शत्रु’?

हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*