राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय

२५ कार्तिक २०८२, मंगलवार १०:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको करिब ३ अर्ब ७० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको एक सूचनामार्फत एक वर्षका लागि सो रकम लगानी गर्न लागेको जानकारी दिएको हो ।

राष्ट्र बैंकले लगानीका लागि तोकेको कुल रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने उल्लेख छ ।

लगानीका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले केही सर्तहरू पूरा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । सूचनाअनुसार, सम्बन्धित संस्था कम्तीमा दुई वर्षअघि सञ्चालनमा आएको हुनुपर्नेछ । साथै, बैंकले तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम गरेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात (एनपीएल) ३ प्रतिशतभन्दा कम रहेको हुनुपर्नेछ ।

त्यसैगरी, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाबअनुसार खुद नाफामा रहेको हुनुपर्ने पनि सर्तमा समावेश गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*