सानिमा बैंकका सीईओ पाण्डेको कार्यकाल सकिदै, नयाँ नेतृत्वमा पवन कुमार आचार्य नियुक्त

२५ कार्तिक २०८२, मंगलवार १०:४०

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बैंकको संचालक समितिको कात्तिक २४ गते सोमबार दिउँसो बसेको बैठकले पवन कुमार आचार्यलाई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका विद्यमान प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेबाट समाप्त हुने भएपछि आचार्यलाई माघ १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

आचार्य २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव समालेका छन् । हाल उनले सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका हुन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए ।

उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत थिए । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।

उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*