जीवन बीमाले फेरिएको तोयानाथ दाहालको जिन्दगी, परिश्रमीको भट्टीबाट यसरी उदाए

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका तोयानाथ दाहालले संघर्षको राजमार्गमा आफ्ना पाइलाहरू अगाडि बढाइरहेका छन् ।
ताप्लेजुङ जिल्लाको तत्कालीन डुम्रिसे गाउँ विकास समिति वडा नम्बर ३ मा २०२९ साल चैत १० गते जन्मिएका तोयानाथ दाहाल यति बेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध भएका छन् । पिता धन कुमार दाहाल र माता योगमाया दाहालका जेष्ठ सुपुत्रको रूपमा उनको जन्म भएको थियो ।
सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित दाहाल छोटो अवधिमै उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेका छन् ।मिठो बोलीवचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान र वैदेशिक रोजगारको अनुभवको उपयोगबाटै दाहालले सिटिजन लाइफमा आबद्ध भएको छोटो अवधिमै सयौं नागरिकको जीवन बीमा गराउन सफल भएका छन् ।

वैदेशिक रोजगारमा दुई दशक र सहकारीमा लामो समय काम गरेका दाहाल आजभोलि जीवन बीमा गर्न निकै व्यस्त छन् । ‘मैले पछिल्लो केही समययता सहकारीबाट समेत राजीनामा दिएर अभिकर्ता पेशालाई नै मुख्य आम्दानीको स्रोत बनाएको छु ।’ उनले भने ।
‘आजभोलि मलाई दिनमा कम्तीमा पनि दुई–तीन जना मान्छेसँग बीमा सम्बन्धी कुरा गर्न सकिनँ भने त्यो रात मलाई निन्द्रा नै लाग्दैन । मेरो टाउँको दुख्न थाल्छ । मलाई खाना खाने समेत रुची हुँदैन । मलाई यो जीवन बीमाको ठूलो लत बसिसकेको छ ।’ दाहालले भने ।
आफ्नै सहकारी सञ्चालन गरी दिनचर्या बिताइरेहका दाहाललाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने उनमा दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा सफल एजेन्सी म्यानेजरको रूपमा सबैले चिनेका छन् ।
जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको चन्द्रगढी शाखाका एजेन्सी म्यानेजर तोयानाथ दाहालले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ यसमा व्यवसायिक सफलता प्राप्त गर्न त्यति नै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले दाहाललाई निकै सहयोग गरेको छ ।

सानैदेखि पढाई लेखाइमा रुची राख्ने दाहालले २०५२ सालमा ताप्लेजुङको भानु माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका हुन् । सोही जिल्लाको पिप्लेश्वरी प्राविबाट २०४५ सालमा पाँच कक्षा उत्तीर्ण गरेको उनले सुनाए ।
गाउँ समाजमा एक असल नागरिकको परिचय बनाएका उनले विभिन्न आर्थिक अभाव भोगिरहेकाहरूलाई समेत सहयोग गरेर समाजसेवी तथा अधिकारकर्मीको रूपमा समेत आफ्नो परिचय बनाएका छन् । १९ वर्ष वैदेशिक रोजगारको शिलशिलामा साउदीमा बिताएका उनले साउदीमै रहेका नेपालीहरुलाई आप्रवासी सेवा समिति स्थापना गरेर आफ्नो देशमा केही गर्नुपर्छ भन्दै एउँटा सहकारी स्थापना गरेका थिए ।
२०५२ सालमा वैदेशिक रोजगारीका लागि विदेशिएका दाहाल ७० सालमा नेपाल फर्किए । जीवनको उर्वर र महत्वपूर्ण समय विदेशमा बिताएका दाहालले पछि नेपाल आएर आफ्नै सहकारीलाई निरन्तरता दिए । कोरोना कालमा असहज परिस्थितिले उनलाई सहकारी सञ्चालन गर्न निकै अप्ठ्यारो बनायो ।
कोरोनाको कहरले सहकारी सञ्चालन गर्न अप्ठ्यारो परिरहेको अवस्थामा सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर इश्वरी प्रसाद बरालसँग उनको भेट भयो । सोही भेट नै उनको जीवनको अध्याय बन्न पुगेको दाहाल बताउँछन् ।
‘उहाँसँग भेट भएपछि मैले २०७५ सालमा सिटिजन लाइफले सञ्चालन गरेको अभिकर्ता तालिममा सहभागि भएको थिएँ । दुई दिनको तालिम लिएपछि २०७५ सालको चैत २८ गतेदेखि आधिकारिक रूपमा अभिकर्ता कोड लिएर बीमा व्यवसायको थालनी गरेको हुँ ।’ उनले भने ।
‘शुरुवाती समयदेखि नै बीमा सम्बन्धी नकारात्मक धारणा भएको मान्छे म अहिले बीमा बुझेपछि यहि पेशालाई अँगालेको छु ।’ उनले भने, ‘बीमा क्षेत्रमा आएपछि आफ्नो निश्चित उद्देश्य तथा लक्ष्य बनाएर अघि बढ्नुपर्छ । यसैमा धेरै पैसा छ र अर्को कुरा विदेश जान आवश्यक नै छैन् ।’

सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश भएसँगै उनले आजसम्म ६ सयभन्दा बढी नागरिकहरूको जीवन बीमा गरी उनीहरूको जोखिमको रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।
दाहाल सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाका लागि एक असल छोरा र श्रीमतीको लागि एक असल तथा जिम्मेवार श्रीमान् बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो । जसले मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’
घर परिवारको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका दाहाल अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछन् । उनले यस अवधिमा सयौं नागरिकको बीमा गर्न सफल भएका छन् । ‘हाम्रो गाँउ समाजमा शहरको जस्तो मानिसहरूले ठूला–ठूला पोलिसी लिंदैनन् । त्यसो भएकाले मैले बीमितहरूको पारिवारिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै उहाँहरूका लागि सुहाउँदो बीमा पोलिसी मात्रै बिक्री गर्ने गरेको छु ।’
बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षबाटै दाहालले चन्द्रगढी शाखा कार्यालयबाट आर्थिक वर्ष २०७७–०७८ मा सिल्भर क्लबमा छनौट भएका थिए । त्यसपछि ०८०–०८१ मा डायमण्ड क्लबमा छनौट भएर ३८ वर्ष अघिको आमालाई सम्मान गर्ने आफ्नो इच्छा पूरा भएको उनले बताए । डायमण्ड क्लबमा छनौट भएर आफ्नो आमालाई काठमाडौंको भव्य कार्यक्रममा सम्मान गरेको हुदाँ निकै खुशी मिलेको उनले सुनाए ।

उनका अनुसार सिटिजन लाइफमा रहेको जीवन शुभारम्भ (इण्डोमेन्ट) बीमा पोलिसी नागरिकको पहिलो रोजाइमा रहेको छ । नागरिकहरूले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरूको स्वभाव, इमान्दारिता, बानी व्यहोरा र समाजमा उनीहरूको स्थापित छबीलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरूका कुरा सुनेर उनीहरूको बीमाप्रतिको नकारात्मक धारणा चिरेर अघि बढ्ने गरेको उनी बताउँछन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफू खुशी रहेको उनले बताए । अभिकर्ता पेशा आम नागरिकहरूले सोचेको भन्दा निकै फरक रहेको उनको व्यक्तिगत अनुभव छ ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै दाहालको जीवनमा आमूल परिवर्तन आएको छ । शुरूमा मानिसहरूसँग कुरा गर्दा समेत खुलेर बोल्न लजाउने उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले पुर्वी नेपालका सयौं नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।














दाइको अझै धेरै प्रगति र उन्नती को समाचार सुन्न पाइयोस्
बधाई छ तोया सर