विजय लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा घाटा बेहोरेको कम्पनीले चालू आवको सोही अवधिमा भने नाफा कमाएको हो।
गत आवको असोज मसान्तसम्म ३ करोड ४५ लाख रुपैयाँ खुद घाटा बेहोरेको कम्पनीले चालू आवको असोज मसान्तसम्म भने ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि समीक्षा अवधिमा १८.५५ रुपैयाँ ऋणात्मकबाट ४.३० रुपैयाँ धनात्मक भएको छ।
यता समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ७० लाख रुपैयाँबाट झण्डै ७९ प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १० करोड ९० लाख रुपैयाँबाट झण्डै ७५ प्रतिशतले बढेर १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। यद्यपि कम्पनीको खराब कर्जा भने ९.५७ प्रतिशतबाट बढेर १३.६० प्रतिशत पुगेको छ जुन निकै उच्च दर हो। कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.२१ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ७४ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ४ लाख रुपैयाँ र रिजर्भ कोषमा ५१ करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ९ अर्ब ६८ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ११ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।













