गणपति लघुवित्तको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक?

२६ कार्तिक २०८२, बुधबार ०९:३०

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा कम्पनीको वित्तीय सूचकहरूमा उच्च अंकको वृद्धि देखिएको हो।

गत आवको असोज मसान्तसम्म कम्पनीले १० लाख ३४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा चालू आवको असोज मसान्तसम्म १०२३.८९ प्रतिशतको उच्च वृद्धि सहित १ करोड १६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ५७ लाख रुपैयाँबाट ३७ प्रतिशतले बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ३ करोड ७५ लाख रुपैयाँबाट ३६.२२ प्रतिशतले बढेर ५ करोड ११ लाख रुपैयाँ पुगेको छ।

नाफा र आम्दानीमा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी (वार्षिक) पनि २.७३ रुपैयाँबाट ह्वात्तै बढेर ३०.६७ रुपैयाँ पुगेको छ। गत वर्ष खराब कर्जा ४.९३ प्रतिशत रहेकोमा यस वर्ष केही सुधार सहित ४.७९ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९५.३२ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ८० लाख रुपैयाँ र रिजर्भ कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चिति रहेको छ। २ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले ५० करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*