राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

२६ कार्तिक २०८२, बुधबार ११:०५

काठमाडौं । दशैं–तिहारपछिको समयमै पनि वित्तीय प्रणालीमा अत्यधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज (बुधवार) ५० अर्ब रुपैयाँसम्म निक्षेप तान्ने भएको छ। बैंकले यो कार्य निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणालीमार्फत गर्न लागेको हो। हाल देशभरका बैंक तथा वित्तीय संस्थामा जम्मा निक्षेप ७४ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

केन्द्रीय बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण र ब्याजदरलाई व्यवस्थापन गर्नका लागि समय–समयमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत रकम तान्दै आएको छ। आजको बोलकबोलमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

बोलकबोलमा सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकताका साथ बाँडफाँट गरिनेछ। आजको निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

न्यूनतम १० करोड रुपैयाँदेखि शुरु हुने बोलकबोलमा अधिकतम रकम ५ करोड रुपैयाँको गुणनफल निस्कने गरी कुल आह्वान रकमसम्म प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*