१३ वर्षको सफल यात्राः देशभर सेवा विस्तार गर्दै मेरो माइक्रोफाइनान्स अग्रणी लघुवित्तको रूपमा स्थापित

२६ कार्तिक २०८२, बुधबार १८:०३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा एकैसाथ विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयसम्मका कर्मचारी, सञ्चालक, ग्राहक र स्थानीय समुदायको सहभागितामा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

नुवाकोटको बट्टारमा २०६९ साल कात्तिक २६ गते स्थापना भएको मेरो माइक्रोफाइनान्सले छोटो अवधिमा उल्लेखनीय प्रगति गर्दै देशकै अग्रणी लघुवित्त वित्तीय संस्थामध्ये एकका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । राष्ट्रियस्तरको लघुवित्तका रूपमा सुरु भएको संस्थाले आर्थिक सबलीकरण र वित्तीय पहुँच विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।

स्थापना आरम्भमा जम्मा १५ शाखामार्फत १४ हजारभन्दा बढी घरपरिवारलाई सेवा पुर्‍याउँदै सुरु गरेको मेरो माइक्रोफाइनान्सले हालसम्म ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५३ हजारभन्दा बढी घरपरिवारसम्म वित्तीय सेवा विस्तार गरेको जनाएको छ । ग्रामीण तथा अर्धशहरी क्षेत्रमा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको संस्थाले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन, उद्यमशीलता प्रवर्द्धन गर्न र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने दिशा लिएको छ ।

हालसम्म संस्थाले ३ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यसबाट हजारौं ग्राहकले आफ्नो उद्यम सञ्चालन गर्न, आवास निर्माण गर्न र जीवनस्तर उकास्न सहयोग पाएको जनाइएको छ ।

हाल संस्थाले ८ विभाग, ७ प्रदेशीय संरचना र १९ वटा अनुगमन स्टेशनमार्फत सञ्चालन कार्यक्रमहरूको प्रभावकारिता मापन गर्दै आएको छ ।देशका ७ बाणिज्य बैंक र १ विकास बैंकको संयुक्त लगानीमा प्रवर्द्धन भएको मेरो माइक्रोफाइनान्सले आफ्ना ग्राहकका आवश्यकताअनुसार बचत, कर्जा, बीमा र रेमिट्यान्स सेवाहरू सहज रूपमा उपलब्ध गराउँदै आएको छ । विशेषगरी, ग्रामीण महिलाहरूलाई लक्षित गर्दै सामूहिक जमानी र बिना धितो कर्जाका कार्यक्रम सञ्चालन गरी उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको छ ।

त्यस्तै, संस्थाले समयानुकूल डिजिटल सेवाको पहुँच बढाउने रणनीति अवलम्बन गरेको छ । मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, र अन्य डिजिटल माध्यममार्फत ग्राहकले आफ्नो खाताको जानकारी, कारोबार विवरण र भुक्तानी सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसले ग्रामीण क्षेत्रमा समेत डिजिटल वित्तीय पहुँच विस्तारमा योगदान पुर्‍याएको संस्थाको दाबी छ ।

स्थापना दिवसको अवसरमा संस्थाले केही शाखा कार्यालयहरूमा स्थानीय विद्यालय र समुदायमा सहयोग कार्यक्रम, वृक्षरोपण, र वित्तीय साक्षरतासम्बन्धी तालिमहरू पनि आयोजना गरेको जनाएको छ । यसरी, वार्षिकोत्सव संस्थाको मात्र होइन, स्थानीय समुदायसँगको साझेदारी र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता पुनः प्रकट गर्ने अवसर बनेको छ ।

तेस्रो दशकमा प्रवेश गर्न लागेको मेरो माइक्रोफाइनान्सले आगामी दिनमा सेवा सञ्जाल विस्तारसँगै डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, र मानव संसाधन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएको छ । संस्थाका अनुसार, आर्थिक समावेशीकरण र गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी वर्षहरूमा अझ सशक्त संस्थाको रूपमा अघि बढ्ने लक्ष्य राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*