गुराँस लघुवित्तका सीईओको वार्षिक तलब साढे ३१ लाखमाथि, अध्यक्ष र सञ्चालकको कति?

२७ कार्तिक २०८२, बिहीबार १३:४०

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु प्रसाद उपाध्यायले गत आर्थिक वर्षमा ३१ लाख ७६ हजार १४० रुपैयाँ तलब भत्ता बुझेका छन्।

कम्पनीले सीईओलाई दिइएको तलब भत्ता कम्पनी र सीईओबीच भएको सम्झौताअनुसार दिइएको जानकारी दिएको छ। अन्य प्रमुख व्यवस्थापन पदाधिकारीहरूलाई भने कर्मचारी नियमावली र व्यवस्थापनले समयसमयमा गरेको निर्णयअनुसार दिइने गरिएको बताएको छ।

त्यसैगरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भेष बहादुर बस्नेतले २२ लाख २३ हजार ७२१ रुपैयाँ तलब बुझेका छन्। गत आवमा सीईओ र डीसीईओले कुल ५४ लाख रुपैयाँ तलब भत्ता लिएका हुन्। कम्पनीले प्रमुख व्यवस्थापन पदाधिकारीहरूलाई तलब भत्तासँगै सवारी सुविधा, सहुलियत दरमा कर्मचारी ऋण र सेवाबाट मुक्त हुँदा थप अन्य सुविधाजस्ता नगद रहित लाभहरू पनि उपलब्ध गराइने गरेको उल्लेख गरेको छ।

त्यसैगरी कम्पनीका सञ्चालक समितिका सदस्यहरूले गत आवमा बोर्ड बैठक बसेबापत कुल ३ लाख ५९ हजार ५०० रुपैयाँ भत्ता लिएका छन्। सञ्चालक समितिका अध्यक्ष उदय नारायण बरालले ६१ हजार ५०० रुपैयाँ र सदस्यहरू राजु प्रसाद अधिकारीले १० हजार ५०० रुपैयाँ, विजय कुमार दाहालले ५५ हजार ५०० रुपैयाँ र अशोक गौतमले ४० हजार ५०० रुपैयाँ भत्ता लिएका छन्। यी सदस्यहरू २०७८ कात्तिक २२ गते सञ्चालकमा नियुक्त भएका हुन् भने राजु प्रसाद अधिकारीले २०८१ कात्तिक २३ गते राजीनामा दिएका थिए।

त्यसैगरी सदस्यहरू डा. प्रमोद कुमार झाले ५० हजार ५०० रुपैयाँ, राजु कोइरालाले ४५ हजार ५०० रुपैयाँ, मदन खतिवडाले ४० हजार रुपैयाँ र अर्जुन प्रसाद निरौलाले ५५ हजार ५०० रुपैयाँ बैठक बसेबापत भत्ता लिएका छन्। झा २०७९ साउन ३० गते, कोइराला २०८० पुस १८ गते, खतिवडा २०८१ कात्तिक २६ गते र निरौला २०८० पुस १८ गते सञ्चालक समितिमा नियुक्त भएका थिए।

यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरू हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत नगद लाभांश समेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*