उपकार लघुवित्तको वित्तीय विवरणमा गम्भीर त्रृटि, गलत तथ्याङ्कले लगानीकर्ताको लगानी जोखिममा

२७ कार्तिक २०८२, बिहीबार १४:१४

काठमाडौँ । लगानीकर्तामाझ विश्वास कायम राख्नुपर्ने अवस्थामा उपकार लघुवित्त वित्तीय संस्थाले उल्टै भ्रम सृजना गरेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणमा गम्भीर त्रुटि गरेको खुलेको हो ।

सार्वजनिक गरिएको वित्तीय विवरणमा कम्पनीले अंक ‘हजार’का रूपमा देखाउँदा वास्तविक तथ्याङ्कभन्दा हजारगुणा बढी देखिएको छ । वित्तीय विवरणको माथिल्लो भागमा ‘रकम हजारमा’ भनेर उल्लेख गरिएको छ । त्यस अनुसार हेर्दा कम्पनीको चुक्तापूँजी १ खर्ब र नाफा ७ अर्ब ७२ करोड रुपैयाँ पुगेको देखिन्छ । तर वास्तविकता त्यस्तो छैन । कम्पनीका सूचना अधिकारी अरुण चौधरीका अनुसार सो विवरणमा ‘हजार’ को उल्लेख नै गलत भएको हो । वास्तवमा कम्पनीको नाफा जम्मा ७७ लाख रुपैयाँ मात्र रहेको उनले स्वीकार गरे ।

यसरी गलत विवरण सार्वजनिक गर्दा लगानीकर्ताको अनुमान र मूल्यांकन पूर्ण रूपमा प्रभावित भएको छ । शेयर बजारमा लगानीकर्ताले कम्पनीको वित्तीय विवरण हेरेर निर्णय लिने गरेका हुन्छन् । तर उपकार लघुवित्तको त्रुटिपूर्ण रिपोर्टले उनीहरूलाई भ्रममा पार्दै अनावश्यक जोखिम बढाएको छ । नेप्सेमा सूचीकृत कम्पनीको सानो गल्तीले पनि बजारमा ठूलो तरंग ल्याउन सक्छ । विशेषगरी वित्तीय विवरणजस्तो संवेदनशील कागजातमा यस्ता गल्तीहरूले लगानीकर्ताको अर्बौं रुपैयाँ जोखिममा पार्ने अवस्था बनाउँछ ।

उपकार लघुवित्तको यस्तो गल्ती पहिलो पटक भने होइन । यसअघि पनि कम्पनीले पटक–पटक गलत विवरण सार्वजनिक गर्दै लगानीकर्तालाई अलमलमा पारेको इतिहास दोहोर्याएको छ । आर्थिक वर्ष २०८१÷०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीले प्रतिशेयर नेटवर्थ नै गलत देखाएको थियो । त्यसअघि दोस्रो त्रैमासको प्रतिवेदनमा प्रतिशेयर आम्दानी र अन्तिम मूल्य दुबैमा त्रुटि भएको भेटिएको थियो ।

वित्तीय विवरणमा गल्ती भएपछि नियमानुसार कम्पनीले दोस्रो दिन नै राष्ट्रिय दैनिकमा भूलसुधार सूचना प्रकाशित गर्नुपर्ने हुन्छ । तर उपकार लघुवित्तले यस्तो सूचना ढिलो गर्ने गरेको छ । सामान्यतया तीनदेखि चार दिनपछि मात्र भूलसुधार विज्ञप्ति निकाल्ने गरेको तथ्य पाइन्छ । यस्ता ढिलाइहरूले लगानीकर्तामा थप अन्योलता र अविश्वासको वातावरण सिर्जना गरेको हो ।

यसबेला पनि स्थिति त्यस्तै छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा गल्ती देखिए पनि कम्पनीले अझै औपचारिक रूपमा सुधार सूचना सार्वजनिक गर्न सकेको छैन । कम्पनीले कात्तिक २५ गते वित्तीय विवरण सार्वजनिक गरेको भए पनि दुई दिनसम्म पनि गलत विवरणकै आधारमा सूचना प्रसारण भइरहेको छ । कम्पनीका सूचना अधिकारी चौधरीले गल्ती भएको स्वीकार गर्दै भनेका छन् ‘वित्तीय विवरणमा माथि उल्लेख गरिएको ‘हजार’ गलत भएको हो । वास्तवमा हाम्रो नाफा ७७ लाख मात्र हो । अब केही दिनभित्र भूलसुधार सूचना निकाल्छौं ।’

तर प्रश्न यो उठ्छ जब कम्पनीलाई गल्ती भएको थाहा थियो किन लगानीकर्तालाई तुरुन्त जानकारी दिइएन ? यस्तो ढिलासुस्तीले कम्पनीको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । शेयर बजारजस्तो संवेदनशील क्षेत्रमा सूचना ढिलाइ हुनु भनेको लगानीकर्ताको हकमा नकारात्मक असर हो । लघुवित्तले आफ्नो विश्वास गुमाउने जोखिम व्यावहारिक रूपमा भोगिरहेको छ । बारम्बार त्रुटिपूर्ण विवरण सार्वजनिक हुँदा बजारमा कम्पनीप्रति नकारात्मक धारणा फैलिँदै गएको छ । यस्तो अवस्था निरन्तर रहँदा कम्पनीको शेयर मूल्यमा पनि प्रत्यक्ष असर पर्न सक्ने देखिन्छ ।

यस्ता गल्तीहरू प्राविधिक मात्रै नभई संस्थागत लापरबाही र कमजोर व्यवस्थापनको परिणाम हो । उपकार लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शारदा कुमारी खत्री र अध्यक्ष शान्ति देवी ढकालको नेतृत्वमा संस्थाको व्यवस्थापन क्षमता र नीतिगत दक्षतामाथि पनि प्रश्न उठ्न थालेका छन् ।

कम्पनीको वित्तीय अवस्थाले पनि हाल राम्रो संकेत दिएको छैन । पछिल्लो समय यसको खराब कर्जा दर लगातार बढ्दै गएको छ । अघिल्लो वर्ष १.२५ प्रतिशतमा सीमित रहेको खराब कर्जा चालु वर्ष ५.४५ प्रतिशतमा पुगेको छ । यस्तो तीव्र वृद्धि संस्थाको कर्जा नीतिमा समेत गम्भीर प्रश्न उठाएको छ ।

लघुवित्त क्षेत्र नेपालमा ग्रामीण र साना लगानीकर्ताको पूँजीसँग प्रत्यक्ष सम्बन्धित रहेकोले यसको वित्तीय स्वास्थ्य र पारदर्शितामा कमजोर दृष्टिकोणले ठूलो असर पार्छ । लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका वित्तीय संस्था हो । यस्ता संस्थाहरूलाई सैद्धान्तिक रूपमा नियमन र अनुगमन गर्ने जिम्मेवारी राष्ट्र बैंकको हुन्छ । तर, अहिलेसम्म लघुवित्त क्षेत्रका संस्थाहरूमा त्यस्तो निगरानी प्रभावकारी हुन सकेको छैन ।

त्यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बजार नियमन गर्ने निकाय मध्य एक हो । सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा पारदर्शिता, समयमै सूचना प्रकाशन, र लगानीकर्तालाई सही तथ्याङ्क उपलब्ध गराउने जिम्मेवारी नेप्सेको हो । तर उपकार लघुवित्तले गलत वित्तीय विवरण सार्वजनिक गर्दा समेत नियामक निकायहरू मौन छ । लगानीकर्ताको हित सुरक्षित राख्नका लागि राष्ट्र बैंक र नेप्से दुवैले सक्रिय भूमिका खेल्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*