लघुवित्तहरुको खुद नाफा ४१६%ले बढ्यो, करिव १ अर्ब खुद नाफामा कसले कति कमाए ? (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित २८ वटा लघुवित्त संस्थाहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण अनुसार अधिकांश संस्थाहरुको मुनाफामा सुधार आएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २८ वटा लघुवित्तहरुले ९९ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले १९ करोड ३४ लाख खुद नाफा कमाएका थिए । गत आवको तुलनामा लघुवित्त संस्थाहरुको मुनाफा ४१६ प्रतिशतले बृद्धि भएको छ ।
विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त कम्पनीहरु ऋण उठाउन सफल भइरहेको देखिन्छ ।

स्रोतः लघुवित्तहरुले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणका आधारमा तयार पारिएको,
समीक्षा अवधिमा साना किसान लघुवित्तले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले २२ करोड ८४ लाख रुपैयाँ प्रथम त्रैमासमा कमाएको छ । साथै, डिप्रोक्स लघुवित्तले २० करोड २२ लाख रुपैयाँ, सुर्योदय वोमी लघुवित्तले ६ करोड २४ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तले ६ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले पाँच करोड ७१ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले पाँच करोड ५३ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले पाँच करोड ६ लाख रुपैयाँ, महुली लघुवित्तले तीन करोड ४४ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तले तीन करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।













