डरलाग्दो फाइनान्सको वित्तीय आंकडाः मुनाफा ऋणात्मक हुँदा ईपीएसमा समेत पहिरो, ५०% सम्म खराब कर्जा

काठमाडौँ । ‘ग’ वर्गका फाइनान्स कम्पनीहरू वित्तीय दबाबमा पर्दै गएका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक विवरण अनुसार अधिकांश फाइनान्सको प्रमुख वित्तीय सूचकहरू कमजोर बन्दै गएको देखाएको हो ।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेपछि निक्षेप संकलनमा गिरावट आएको छ भने कर्जा प्रवाह र असुली पनि प्रभावित बनेका छन् । दशैं–तिहारको लामो बिदाले कर्जा असुली थप सुस्त बनेपछि ब्याज आम्दानीमा कमी देखिएको र नाफामा संकुचन देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा फाइनान्स कम्पनीको मुनाफा ३३ करोड २ लाख ६९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिमा फाइनान्सको मुनाफा ८ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा ८ कम्पनीको मुनाफा ऋणात्मक रहेको छ भने ७ कम्पनी मात्रै घनात्मक रहेको छ । मुनाफा घनात्मक रहेका कम्पनीहरुको मुनाफा गत आर्थिक वर्षको तुलनामा भने भारी गिरावट देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा सर्वाधिक नाफा आर्जन गर्नेमा मञ्जु श्री फाइनान्स भने पहिलो नम्बरमा रहेको छ । कम्पनीको नाफा ४ करोड ६३ लाख ९४ हजार रुपैयाँ रहेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ५०.७६ प्रतिशतले कम हो ।
त्यस्तै, गुडबिल फाइनान्सको मुनाफा साढे २४ प्रतिशतले घटेर ३ करोड ७३ लाख, आइसिएफसि फाइनान्सको ६७ प्रतिशतले घटेर २ करोड २४ लाख, सेन्ट्रल फाइनान्सको ६२ प्रतिशतले घटेर १ करोड ८४ लाख, मल्टीप्रपोज फाइनान्सको ८ प्रतिशले घटेर १ करोड ३५ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सको १७ प्रतिशतले घटेर ३४ लाख ४३ हजार र ऋणात्मक रहेको जानकी फाइनान्सको मुनाफा १८ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्मको अवधिमा नाफा ऋणात्मक हुनेमा रिलायन्स फाइनान्स १६ करोड ४८ लाख, पोखरा फाइनान्स ६ करोड ७ लाख, नेपाल फाइनान्स ५ करोड ९५ लाख, बेष्ट फाइनान्स ५ करोड ४७ लाख, गोर्खाज फाइनान्स ४ करोड २४ लाख, प्रोगेशिभ फाइनान्स ३ करोड ९० लाख, गुहेश्वरी मर्चेन्ट ३ करोड ७ लाख र समृद्धि फाइनान्स २ करोढ १७ लाख रुपैयाँ रहेको छ ।
खराब कर्जाको आकंडा डरलाग्दो, जानकीको ५० प्रतिशत
खराब कर्जाको आंकडा हेर्दा जानकी फाइनान्स संकटमा परिसकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खराब कर्जा ५३.८० प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ८ प्रतिशत वा सो भन्दा माथि पुगेमा उक्त संस्थालाई निगरानीमा राखिन्छ । तर, जानकीको खराब कर्जा निरन्तर बढ्दा समेत केन्द्रिय बैंकले आफ्नो नियमनको दायरामा ल्याउन सकेको छैन । अब जानकीलाई केन्द्रिय बैंकले सुनसुकै बेला समेत आफ्नो निरन्तरमा ल्याउन सक्ने देखिन्छ ।
अन्य ५ कम्पनीको खराब कर्जा पनि दोहोरो अकंमा रहेको छ । यसअवधिसम्ममा नेपाल फाइनान्सको खराब कर्जा १३.१० प्रतिशत, सेन्ट्रल फाइनान्सको १२.०९ प्रतिशत, पोखरा फाइनान्सको १०.७६ प्रतिशत, रिलायन्स फाइनान्सको १०.६७ प्रतिशत र बेष्ट फाइनान्सको १०.१९ प्रतिशत रहेको छ ।

यता, समृद्धि फाइनान्स र गुहेश्वरी मर्चेन्टको खराब कर्जा समेत केन्द्रिय बैंकले तोकेको सीमा माथि रहेका देखिन्छ । कम्पनीहरुको खराब कर्जा क्रमशः ९.६७ प्रतिशत र गुहेश्वरी मर्चेन्टको ८.०८ प्रतिशत रहेको छ ।
प्रतिशेयर आम्दानीको अवस्था समेत नाजुक
फाइनान्स कम्पनीको प्रतिशेयर आम्दानीमा समेत भारी गिरावट आएको देखिन्छ । समिक्षा अवधिमा ७ कम्पनीको प्रतिशेयर आम्दानी झिनो रुपमा घनात्मक रहेको छ । अन्य ८ कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको देखिन्छ ।
मञ्जुश्री फाइनान्सको प्रतिशेयर आम्दानी १३.७३ रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको ८.८९ रुपैयाँ, सेन्ट्रल फाइनान्सको ७.७८ रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.३८ रुपैयाँ, जानकी फाइनान्सको १.०७ रुपैयाँ र गुडबिल फाइनान्सको ०.९९ रुपैयाँ रहेको छ ।
अन्य ८ कम्पनीको प्रतिशेयर आम्दानी भने ऋणात्मक रहेको देखिन्छ ।














