निक्षेपभन्दा कर्जाको ब्याज धेरैले घट्यो

३० कार्तिक २०८२, आईतवार १७:५३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपभन्दा कर्जाको ब्याज धेरै घटेको देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आवको असोजसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा समीक्षा अवधिको तुलनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर १.८३ प्रतिशतले घट्दा निक्षेपको १.३९ प्रतिशत विन्दु घटेको छ । यो असोजसम्म वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.५ प्रतिशत छ भने निक्षेपको औसत ब्याजदर ३.८५ प्रतिशत छ । गत आर्थिक वर्ष असोजमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ५.२४ प्रतिशत थियो । त्यसैगरी सो अवधिमा कर्जाको औसत ब्याजदर ९.३३ प्रतिशत थियो ।

बैंकहरूले कर्जाको ब्याजदरको तुलनामा निक्षेपको ब्याजदर कम घटाउनुको मुख्य कारण ब्याजदर करिडोरको प्रभाव हो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत भन्दा थोरै निक्षेपको ब्याजदर कायम गरेको खण्डमा स्थायी निक्षेप सुविधा पाउँदैनन् ।

बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा नपाउँदा बढी भएको तरलता केन्द्रीय बैंकमा राखेर आम्दानी गर्ने अवसर गुमाउँछन् ।

२०८२ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.५६ प्रतिशत, विकास बैंकहरूको ७.९२ र वित्त कम्पनीहरूको ८.४८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.२९ प्रतिशत, विकास बैंकहरूको ९.१३ प्रतिशत र वित्त कम्पनीहरूको १०.३५ प्रतिशत रहेको थियो ।

२०८२ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत, विकास बैंकहरूको ४.४५ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशत छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.२४, विकास बैंकहरूको ५.९४ र वित्त कम्पनीहरूको ७.२१ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, २०८२ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत, विकास बैंकहरूको १०.६३ प्रतिशत र वित्त कम्पनीहरूको ११.८६ प्रतिशत थियो ।

त्यसैगरी २०८१ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९६ प्रतिशत रहेकोमा २०८२ असोजमा १.९१ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*