साढे ७ खर्बको झुत्रा, च्यातिएका नोट राष्ट्र बैंकले धुल्यायो, ५०० र १००० रुपैयाँको बढी हिस्सा

काठमाडौँ । अर्बौं रकम चलनचल्ती भन्दा बाहिर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन अनुसार साढे ७ खर्ब रकम धुल्याउने कार्य भएको हो ।
आर्थिक वर्ष २०८१।०८२ सम्मको वार्षिक प्रतिवेदन अनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू र सर्वसाधारणले राष्ट्र बैंकमा जम्मा गर्न ल्याएका झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरूको कुल मूल्य ७ खर्ब ४५ अर्ब ६९ करोड पुगेको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्ममा विभिन्न दरका नोटहरू धुल्याउने कार्य नियमित रूपमा सम्पन्न गरिएको छ । यसअन्तर्गत पुराना नोटहरूलाई नोट चेष्ट ट्रान्जेक्सन सिस्टममार्फत ब्रिकेट्समा परिणत गर्ने कार्यलाई निरन्तरता दिइएको छ।
आर्थिक वर्ष २०८१।८२ मा १९ अर्ब ५४ करोड १२ लाख ६२ हजार ३२५ रुपैयाँ धुल्याइएको छ । धुल्याइएको नोटहरूको विवरण सबैभन्दा ठूलो हिस्सा ५०० र १००० रुपैयाँका नोटहरूको रहेको छ ।
गत आर्थिक वर्षमा ५०० रुपैयाँका १ करोड ५७ लाख १० हजार नोट बराबरको ७ अर्ब ८५ करोड ५४ लाख ७२ हजार रुपैयाँ र १००० रुपैयाँका ६४ लाख २२ हजार नोट बराबरको ६ अर्ब ४२ करोठ २३ लाख १७ हजार रुपैयाँ धुल्याइएको छ ।
त्यस्तै, यसअवधिमा ५ रुपैयाँका २ करोड ९२ लाख ७ हजार, १० रुपैयाँका ४ करोड १८ लाख ७७ हजार, २० रुपैयाँका २ करोड ९४ लाख ४९ हजार, ५० रुपैयाँका २ करोड ६१ लाख ७ हजार र १०० रुपैयाँका २ करोड ८० लाख ४२ हजार रुपैयाँका नोट धुल्याइएको हो ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष पुराना र क्षतिग्रस्त नोटहरूलाई सङ्कलन गरी धुल्याउने प्रक्रियामा जोड दिँदै आएको छ । नोट राष्ट्रको सम्पत्ति भएकाले यसको उचित हिफाजत र प्रयोगका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालनमा छन् । यसैक्रममा दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वमा नयाँ बैंक नोटको सट्टा सुकिलो नोटको व्यवस्थापन गरी नागरिकलाई सुविधा प्रदान गरिएको छ ।













