अवैध चुक्ता पुँजी हटाउँदै कर्णाली डेभलपमेन्ट बैंक, २५ शेयरधनीको शेयर खारेज

४ मंसिर २०८२, बिहीबार १२:३५

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखाइएको चुक्ता पुँजी घटाउने प्रक्रिया अघि बढाएको छ। बैंकले ३५ जना व्यक्तिहरूले हकप्रद शेयर खरिदको क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पुष्टि गरेपछि अवैध चुक्ता पूँजी घटाउन लागेको हो ।

हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम प्रयोग गरिएकाले चुक्ता रकम भुक्तानी गरेको अवस्था देखिएपछि ती शेयरधनीहरूको शेयर लगत खारेज गर्दै बैंकको चुक्ता पुँजीमै समायोजन गर्न लागिएको हो।

शेयर खारेजको प्रक्रियासँगै सेयरधनीहरूको स्वामित्व संरचना पनि व्यापक रूपमा प्रभावित हुने भएको छ। संस्थापक समूहका शेयर धनीका नाममा रहेको २१ लाख ३६ हजार कित्ता शेयर घटेर २१ हजार ३६० कित्तामा सीमित हुनेछ भने १२ हजार ८८४ कित्ता शेयर भएका शेयर धनीको सेयर संख्या झरेर १२६ कित्तामा मात्र रहनेछ।

नेपाल राष्ट्र बैंकले २०८१ मंसिर १० गतेको निर्णयअनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेर व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह नियुक्त गरेको थियो। त्यसपश्चात् गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कनले संस्थाको चुक्ता पुँजी क्षय भइसकेको र दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखाएको हो। साथै, केही शेयरधनीले चुक्ता हुनुपर्ने रकम अवैधानिक रूपमा भुक्तानी गरिएको तथ्य पनि खुलेपछि पुनर्संरचना गर्नुपर्ने आवश्यकता उत्पन्न भएको हो।

सोही अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१) को खण्ड (च) तथा (ज) र दफा ८६ज बमोजिम ती शेयरधनीहरूको शेयरपुँजी घटाएर १ प्रतिशत मात्र कायम गरिने उल्लेख गर्दै २०८२ कात्तिक १ गते सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*