राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउँदै सिद्धार्थ बैंक, मनपरी ढङ्गमा सीईओ कंडेलको तलब वृद्धि

५ मंसिर २०८२, शुक्रबार ११:५५

काठमाडौँ । वित्तीय संकटमा जाकिँदै गएको सिद्धार्थ बैंक पछिल्लो समय आफ्नै आन्तरिक कमजोर व्यवस्थापन र शीर्ष तहको मनपरी निर्णयका कारण थप विवादमा तानिएको छ । नियामक नेपाल राष्ट्र बैंकको निर्देशनलाई नै धज्जी उडाउँदै बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेलको तलब–भत्ता वृद्धि गरेको तथ्य बाहिर आएको हो ।

राष्ट्र बैंकले २०७९ फागुन ३ गते एक परिपत्रमार्फत अर्को व्यवस्था नभएसम्म सीईओको तलब, भत्ता तथा अन्य सेवा–सुविधा नबढाउन निर्देशन दिएको थियो । तर, सिद्धार्थ बैंकले त्यही निर्देशनलाई बेवास्ता गर्दै मनपरी ढंगले तलब–भत्ता बढाएको तथ्य बैंककै वार्षिक प्रतिवेदनले पुष्टि गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा सीईओ कडेललाई आधारभूत तलबका रूपमा ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ भुक्तानी गरेको थियो । सो वर्ष बैंकले ४० लाख ८० हजार भत्ता, ११ लाख ६ हजार ८०० दशैंभत्ता, विदा भत्ता ४ लाख ५० हजार, १७ लाख ५६ हजार ८०० सवारीसाधन भत्ता जम्मा १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ भुक्तानी गरेको थियो ।

बैंकको २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार आधारभूत तलब बढेर ९९ लाख ३७ हजार ७ सय २८ रुपैयाँ पुगेको छ । जसमा ४० लाख ८० हजार भत्ता, ११ लाख ६८ हजार १ सय ४४ दशैंभत्ता, विदा भत्ता ४ लाख ५० हजार र १७ लाख ५६ हजार ८०० सवारीसाधन भत्तासहित सीईओको वार्षिक सेवा–सुविधा कुल १ करोड ७३ लाख ९२ हजार ६ सय ७२ रुपैयाँ पुगेको उल्लेख छ । यी सबै भुक्तानी राष्ट्र बैंकको स्पष्ट निर्देशन विपरीत गरिएका हुन् ।

सीईओ कडेलमाथि बैंकभित्र आफ्नो गुट मात्र बढावा दिने, केही व्यक्तिलाई विशेष अधिकार र सुविधा प्रदान गर्ने, भ्रमण खर्च, होटल खर्च र प्रोत्साहन भत्ताको नाममा स्रोतको अनियन्त्रित दुरूपयोग गर्ने गरेको समेत आरोप लाग्दै आएको छ । बैंकमा नीति निर्माणदेखि लिएर साधारण प्रशासनिक निर्णयसमेत सीईओकै हातमा सीमित हुने, भिन्न मत राख्नेहरूलाई दबाब दिने, मन नपरेका कर्मचारीलाई स्थानान्तरणको डर देखाउने र मन परेका कर्मचारीलाई अत्यधिक सुविधा प्रदान गर्ने चलनले संस्थागत सन्तुलन गुमाएको छ ।

बैंक वित्तीय रूपमा कमजोर हुँदै जाँदा अपेक्षित सुधारका अभियानहरू अघि बढ्नु पर्नेमा सीईओको सेवा–सुविधा बढाइने, विशेष भत्ता थपिने र स्रोतहरू अनावश्यक रूपमा खर्च गरिने शैलीले बैंकभित्र मनोबल खस्किदै गएको छ ।

सिद्धार्थ बैंकभित्र करोडौं भ्रष्टाचार !, लगानीकर्ताको अर्बौ रुपैयाँमाथि खेलवाड

यता बैंकका शेयरधनीहरूले भने अपेक्षित लाभांश नपाएको वर्षमा सीईओको तलब–भत्ता बढाइनु अन्यायपूर्ण रहेको आवाज उठाउन थालेका छन् । बैंकको सञ्चालन सुदृढ पार्नभन्दा स्रोत र सुविधा विस्तारमै व्यस्त भएको नेतृत्वले बैंकलाई कमजोर बनाएको टिप्पणी बजारमा खुलेर राखिन थालेका छन् । यसरी शीर्ष तहबाटै देखिएको मनपरी व्यवहार, नियमको अवज्ञा, गुटगत प्रभाव र आन्तरिक असन्तुलनले सिद्धार्थ बैंकलाई थप समस्यातिर धकेलिरहेको प्रस्ट देखिन थालेको छ ।

भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*