चुच्चे नक्सा र आकर्षक डिजाइनसहितको १ सय रुपैयाँ नोट आजदेखि बजारमा

११ मंसिर २०८२, बिहीबार १०:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ रूपरचना र उन्नत सुरक्षा विशेषतासहितको १०० रुपैयाँको नोट आज मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याउने भएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नोटको आकार, कागज र आधारभूत रंग भने पहिलेकै रहनेछन्। संकेत नम्बर क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मका नोट सार्वजनिक गरिँदै छन्, जसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्य राखिएको छ।

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप र बीचमा अद्यावधिक चुच्चे नक्सा अंकित छ। यो चुच्चे नक्सा तत्कालीन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को २०८१ वैशाख २० गतेको निर्णयका आधारमा समावेश गरिएको हो। अर्थ मन्त्रालयले अघि सारेको प्रस्ताव अनुसार १ सय रुपैयाँका नयाँ नोटमा अद्यावधिक नक्सा राख्ने निर्णय गरिएको थियो।

अशोक स्तम्भको चित्रसँगै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ। दृष्टिविहीनका लागि नोट छामेर पहिचान गर्न सकिने कालो उभिएको थोप्ला पनि राखिएको छ। त्यस्तै, बायाँ भागमा अण्डाकार घेराभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ। नोटमा प्रयोग गरिएको २ मिमीसम्म चौडा सुरक्षा धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने बनाइएको छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहनेछ भने तल्लो भागमा ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ।

पछाडिको भागमा माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। बीचमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र राखिएको छ। तल्लो किनारामा ‘Rupees Hundred’ र नोटको सिरिज ‘2024 AD’ अंग्रेजीमा अंकित छ।

यसअघि २०७६ असोज ७ गतेदेखि सेरिज २०१९ का १०० रुपैयाँ नोट संकेत नम्बर ओ१८ ०००००१ देखि क३७ ९९९९९९ सम्म चलनमा ल्याइने भनिए पनि व्यवहारमा ओ१८ ०००००१ देखि क१९ ०३४५०० सम्मका नोट मात्र प्रचलनमा आए। नयाँ सिरिजका नोट भने पूर्ण रूपमा देशभरका बैंक तथा वित्तीय संस्थामार्फत क्रमिक रूपमा बजारमा आउने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*