निर्धन उत्थान लघुवित्तद्वारा तुल्सीपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

१२ मंसिर २०८२, शुक्रबार ०९:४०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–९ स्थित सल्लीबन सामुदायिक वनको भवनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कम्पनीको शाखा कार्यालय तुल्सीपुर–५ को आयोजनामा भएको कार्यक्रममा करिब १०७ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये सल्लीवन, शिवपुर, हरिनगर, मचोट र कटकुइया गाउँका महिला समूहका सदस्य, अभिभावक, बुद्धिजीवी, स्थानीय भद्रभलादमी तथा कर्मचारीहरू थिए।

कार्यक्रममा सहभागीहरूलाई वित्तीय संस्थाको उद्देश्य, सेवा, वित्तीय पहुँच, उद्यमशीलता, कर्जा, बचत, बीमा, विप्रेषण, पारिवारिक बजेट, आम्दानी–खर्च व्यवस्थापन तथा डिजिटल बैंकिङसहित गैरवित्तीय सेवाबारे प्रशिक्षण प्रदान गरिएको थियो। सहजीकरण शाखाका कर्मचारी डिल्ली भण्डारी, प्राप्ती कार्की, हिमकला बुढा र गोमा वलीले गरेका थिए। साथै क्षेत्रीय कार्यालय कोहलपुरका व्यवस्थापक ध्रुवराज जोशी र केन्द्रीय कार्यालयका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले समेत प्रशिक्षण दिए।

 

कार्यक्रमको सञ्चालन तथा उद्घोषण ध्रुवराज जोशीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले सेवाशुल्क, ब्याजदर र किस्ता भुक्तानी प्रणालीका विषयमा जिज्ञासा राखेका थिए भने कार्यक्रमबाट वित्तीय व्यवस्थापनसम्बन्धी धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै सिकेका सीपहरू दैनिक जीवनमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए।

शाखा प्रमुख धर्मराज बस्यालले सहभागीहरूलाई स्वागत गर्दै वित्तीय साक्षरताको स्तर वृद्धि गर्न सक्रिय भएर सहभागी हुन आग्रह गरेका थिए। सोही अवसरमा संस्थाले वार्षिकरूपमा प्रकाशन गर्ने समृद्धिको मार्ग, २०८२ पुस्तक सफल उद्यमी तथा हरिनगर केन्द्रकी ऋणी सदस्य कमला कुमारी वली खड्कालाई वरिष्ठ व्यवस्थापक जिताराम गौतमले हस्तान्तरण गरेका थिए। उनले सबैलाई आफ्नो पेशा व्यवसायिक ढंगले सञ्चालन गरी उद्यमी बन्न सुझाव पनि दिए।

शाखा प्रमुख बस्यालका अनुसार शाखाबाट तुल्सीपुर, घोराही र दंगिशरणमा रहेको १७० वटा केन्द्रमार्फत ३ हजार १७८ सदस्यलाई १९ करोड रुपैयाँ कर्जा लगानी तथा ११ करोड रुपैयाँ बचत संचय भएको छ। त्यसैगरी संस्थाले देशभरका ७७ वटै जिल्लामा सञ्चालित १८५ शाखामार्फत ४ लाखभन्दा बढी घरधुरीमा २७ अर्बभन्दा बढी कर्जा लगानी तथा २१ अर्ब बचत कारोवार गरिरहेको केन्द्रीय कार्यालयका वरिष्ठ व्यवस्थापक गौतमले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*