प्रभु बैंकबाट सिईओसहित उच्च तहका तीन कर्मचारी प्रकाउ

१४ मंसिर २०८२, आईतवार २१:४६

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् ।

कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरूपयोगमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबीले तीन जनालाई पक्राउ गरेको हो ।

शेरचनसहित प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा तीन जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम प्रवाह गरी कर्जाको दुरूपयोग गरेको आरोप तीनै जनामाथि लागेको छ । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । ९८ करोड रूपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*