स्थायी तरलता सुविधा र नीतिगत दरको माथिल्लो सीमा घट्यो
१५ मंसिर २०८२, सोमबार ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दरलताई घटाएको हो ।
ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४।२५ प्रतिशत कायम गरिएको छ ।
साथै, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।
यता, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत कायम गरिएको जनाएको छ ।













