महासंघको स्थिति पत्र बुझ्दै मुख्यमन्त्री शाह: सुदूरपश्चिममा ठूलो लगानी सम्भावना, सरकार लगानीमैत्री वातावरणमा केन्द्रित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीका ठूला सम्भावना रहेको बताउँदै प्रदेश सरकार लगानीअनुकूल वातावरण निर्माणमा केन्द्रित रहेको स्पष्ट गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि तयारीस्वरूप तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र–२०८१’ आज हस्तान्तरण गर्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनीले प्रदेश सरकारले लगानीमैत्री वातावारणका लागि आवश्यक नीति तथा संरचनागत तयारीलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सुदूरपश्चिममा पर्यटन, कृषि, पूर्वाधार, जलस्रोत लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताए। ‘प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउनतिर लागेको छ, निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्छौँ’ उनले भने।
स्थिति पत्र हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक स्थल तथा जलस्रोत क्षेत्रका विशाल सम्भावनाले ठूलो मात्रामा लगानी आकर्षण गर्न सक्ने उल्लेख गरे। उनले चिसापानीमा ५ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेका केवलकार परियोजनाले प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले सिमानासँग नजिकको भौगोलिक अवस्थाले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने सम्भावना बढाएको भन्दै देशमा नकारात्मक धारणा हटाई सकारात्मक ऊर्जा, स्थिरता र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।













