साना किसान लघुवित्तमा राजनीतिक व्यक्तिलाई सीईओ बनाउने चलखेल, राष्ट्र बैंकमा उजुरी पर्दा प्रक्रियामा नै प्रश्न

काठमाडौँ । साना किसान विकास लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । राजनीतिक दलमा आबद्ध ब्यक्तिलाई कम्पनीको सीईओ बनाउने गरी चलखेल सुरु भएपछि नियुक्तिमा ढिलाई भएको हो ।
नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको पद तीन महिनाभन्दा बढी समय रिक्त राख्न नपाइने व्यवस्था छ । तर साना किसान विकास लघुवित्तमा नियमको पालना हुन सकेको छैन । लघुवित्तको सीईओबाट डा. शिवराम प्रसाद कोइरालाको कार्यकालय २०८२ भदौ १३ गते समाप्त भएको थियो । सोही मितिसँगै कम्पनी सिईओ विहिन भएको छ । तत्कालीन रूपमा नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।
कम्पनीले नयाँ सीईओ नियुक्ति गर्न संचालक समितिको निर्णयअनुसार उपसमिति गठन गरेको थियो । सीईओ नियुक्ति सम्बन्धी उपसमितिले असोज ३० गते खुल्ला प्रतिस्पर्धाद्वारा सीईओ नियुक्ति प्रक्रिया सुरु गरेको हो । सो प्रक्रिया अनुसार १३ जनाले आवेदन दिएका थिए । त्यसपछि मंसिर १ गते उम्मेदवारहरूको व्यवसायीक कार्ययोजनाको मूल्याङ्कनको आधारमा पाँच जनाको शिर्षक सूची तयार गरिएको थियो ।
उपसमितिले खेट राज दाहाल, युवराज गुरागाईं, बासु अधिकारी, पृथ बहादुर थापा र बिना शर्मालाई मंसिर ७ गते प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । अन्तर्वार्ता र प्रस्तुतीकरणको प्रक्रिया सकिएर तीन जना सिफारिस भए पनि हालसम्म नयाँ सीईओको नियुक्ति हुन सकेको छैन । नियम अनुसार मंसिर १४ भित्र सीईओ नियुक्ति गर्नुपर्ने प्रावधान भए पनि राजनीतिक दलका सदस्यलाई सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो ।
उपसमितिले राजनीतिक दलमा आबद्ध व्यक्तिलाई सीईओ नियुक्तिका लागि सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । उम्मेदवारहरू मध्ये एक जनाले उपसमितिले योग्यता र क्षमता नहेरी राजनीतिक पहुँचको आधारमा सिफारिस गरेको भन्दै उजुरी गरेका थिए । लघुवित्तमा सरकारी लगानी धेरै भएकाले यहाँ जहिले पनि राजनीतिक पहुँचको आधारमा व्यक्तिहरूको चयन हुने गरेको छ । विगतदेखि नै कम्पनीमा राजनीतिक साटगाठका कारण सीईओको नियुक्ति प्रक्रियामा विवाद र ढिलाइ हुँदै आएको छ । अहिलेको अवस्थामा पनि राजनीतिक चलखेलका कारण नियुक्ति प्रक्रियामा अन्यौल परेको हो ।
उपसमितिले राजनीतिक व्यक्तिलाई सीईओ बनाउन प्रयास गर्दा कम्पनीमा आन्तरिक विवाद बढेको छ । उपसमितिले सिफारिस गरेको तीन जना उम्मेदवारमध्ये एकजना राजनीति दलको सदस्य र पहुँचको आधारमा प्राथमिकता दिइएको जनाइएको छ । राजनीतिक हस्तक्षेपले गर्दा कम्पनीको नेतृत्व रिक्त रहँदा दैनिक कार्य सञ्चालनमा असर परेको छ । ग्राहक सेवा, लगानी व्यवस्थापन, ऋण वितरण, नीतिगत कार्यान्वयनजस्ता महत्वपूर्ण कामहरू प्रभावित भइरहेका छन् । यसरी प्रमुख कार्यकारी अधिकृत बिना लामो समय संस्था चलाउनु संस्थाको स्थायित्वका लागि जोखिमपूर्ण देखिन्छ ।
साना किसान लघुवित्तमा राजनीतिक दलका प्रतिनिधिहरूको प्रभाव र पहुँचको कारण लामो समयदेखि सीईओ नियुक्ति विवादास्पद रहँदै आएको छ । पारदर्शिता, योग्यता र क्षमता आधारित नियुक्ति प्रक्रियाको हुनुपर्नेमा राजनीतिक ब्यक्ति बनाउने चलखेल कम्पनीमा हुने गरेको छ ।
राष्ट्र बैैकंमा उजुरी परेको कारण सीईओ नियुक्तिमा ढिलाई भएको लघुवित्तका सूचना अधिकारी झलेन्द्र भट्टराईले बताए । उनले भने, ‘सीईओ नियुक्ति समयमा गर्ने गरी हामी अघि बढी रहेका थियौ । तर, अन्तिम समयमा राष्ट्र बैंकमा उजुरी परेको रैछ । त्यो उजुरी नपरेको खण्डमा भने हामीले अगाडी नै नियुक्ति गरि सक्थ्यो तर उजुरी भएपछि हामीले केहि ढिलाइ भएको हो ।’
केन्द्रिय बैंकले नियुक्तिमा परेको उजुरीमा सम्बन्धमा पठाएको पत्रको जवाफ पठाइसकेको हुँदा अब छिटै नियुक्ति प्रक्रिया अघि बढ्ने भट्टराईलेको भनाई छ । ‘नियुक्ति सम्बन्धी केन्द्रिय बैंकमा परेको उजुरीको जवाफ हामीले दिइसकेका छौं । अब छिट्टै कम्पनीले नयाँ सीईओ पाउने छ’ उनले भने ।
यता, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले भने कम्पनीले सीईओ नियुक्ति प्रक्रिया अगाडी बढासकेको र बीचमा केहि विवादका कारण ढिलाई भएको कारण कारबाही नगरेको बताए । उनले भने, ‘कम्पनीले सीईओ नियुक्ति प्रक्रिया नै अघि नबढाएको भए केन्द्रिय बैंकले चाल्नु पर्ने आवश्यक कारबाही प्रक्रिया अघि बढाउने नै थियो । तर, प्रक्रिया सबै अघि बढेर अन्तिम समयमा केहि विवादका कारण रोकिएको हुँदा कारबाही गर्नु पर्ने देखिएन् ।’













