अस्थिरतामै रुमलिएको पुँजी बजार, नीतिगत सुधारमा पनि गुम्दै लगानी, ‘होल्ड गरेर पर्ख र हेर’

दिपक विष्ट
११ पुष २०८२, शुक्रबार १८:२५

काठमाडौँ । पछिल्लो समय नेपाली पुँजी बजार सुस्त गतिमा छ । केही महिना अघिसम्म तीव्र उतार–चढावसहित अघि बढिरहेको शेयर बजार हाल भने निश्चित दायराभित्रै घुमिरहेको हो । लगानीकर्तामा प्रतीक्षा र अनिश्चितता हावी भएको देखिन्छ । बजारलाई गति दिनुपर्ने प्रायः सबै नीतिगत अवरोधहरू हट्दै गएका छन् । मौद्रिक नीतिदेखि नियामकीय निर्देशनसम्मका व्यवस्थाहरू क्रमशः खुकुला बनाइएका छन् । तर, यति धेरै सहजताका बाबजुद पनि पुँजी बजार अपेक्षित रूपमा चलायमान हुन सकेको छैन ।

लामो समयसम्म नीतिगत कडाइका कारण दबाबमा परेको पुँजी बजारका लागि आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई धेरैले टर्निङ प्वाइन्टका रूपमा लिएका थिए । संस्थागत लगानीकर्ताका लागि मार्जिन प्रकृतिको शेयर धितो कर्जामा रहेको २० करोड रुपैयाँको सीमा हटाइनु र व्यक्तिगततर्फको जोखिमभार घटाइनुले बजारमा सकारात्मक सन्देश गएको थियो । यससँगै शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिँदा बैंक तथा वित्तीय संस्थाहरूलाई पनि केही राहत मिलेको थियो । यही नीतिगत परिवर्तनपछि साउन मसान्ततिर नेप्से सूचकांकले ३००० विन्दु पार गर्दै चार वर्षयताकै उच्च तह छोएको थियो । त्यसबेला बजारमा फेरि एकपटक बुल रनको चर्चा सुरु भएको थियो ।

सो पश्चात पुनः राष्ट्र बैंकले पछि एकीकृत निर्देशन संशोधन गर्दै व्यक्तिगत लगानीकर्ताका लागि रहेको २५ करोड रुपैयाँसम्मको मार्जिन कर्जाको सीमा समेत खारेज गरिदियो । यसअघि नै संस्थागत लगानीकर्ताका हकमा यस्तो सीमा हटाइसकेको केन्द्रीय बैंकले व्यक्तिगत लगानीकर्तालाई पनि हटायो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर तथा ऋणपत्रमा लगानी गर्न सक्ने अवधिसम्बन्धी व्यवस्थामा समेत लचकता अपनाइयो । १ वर्षभन्दा बढी समय होल्ड गरेपछि मात्रै दोस्रो बजारमा कारोबार गर्न पाउने पुरानो व्यवस्थालाई खुकुलो बनाउँदै कम्तीमा ६ महिनासम्म होल्ड गरेपछि बिक्री गर्न सक्ने व्यवस्था गरियो । यसले बैंकहरूलाई आवश्यक परेको खण्डमा शेयर बजारमार्फत तरलता व्यवस्थापन गर्न सक्ने अवसर दिने विश्वास गरिएको थियो ।

नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्से सबैले आ–आफ्नो क्षेत्रबाट सुधारका प्रयासहरू गरिरहेका छन् । सेटलमेन्ट प्रणालीदेखि सूचना प्रवाहसम्मका पक्षमा सुधार ल्याउने प्रयासहरू जारी छन् । सरकारको तर्फबाट पनि पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने अभिव्यक्ति बारम्बार दिइँदै आएका छन् । यद्यपि, नीतिगत घोषणाहरू र व्यवहारिक बजार अवस्थाबीच ठूलो दूरी देखिन थालेको छ ।

गत साउन नेप्से ३००२ विन्दुमा पुग्दा त्यस दिन कारोबारका क्रममा ३०२८ विन्दुसम्म उक्लिएको थियो । त्यसयता बजारले त्यो स्तर पुनः भेट्न सकेको छैन । अधिकांश समय सूचकांक २५०० देखि २६०० विन्दुको साँघुरो घेराभित्र अल्झिएको छ । केही दिन सामान्य सुधार देखिए पनि पुनः गिरावट आउने क्रमले लगानीकर्तालाई अलमलमा पारेको छ । बजारमा नयाँ पूँजी प्रवेशभन्दा पनि अल्पकालीन कारोबारमै सीमित प्रवृत्ति हाबी देखिन्छ ।

भदौ २१ र २२ गते जेनजी प्रदर्शनअघि नेप्से २७०८ विन्दुमा थियो । त्यसपछि राजनीतिक र सामाजिक परिवेशमा आएको अस्थिरतासँगै बजारमा नकारात्मक असर पर्न थालेको विश्लेषण गरिन्छ । राजनीतिक घटनाक्रमले पनि बजारलाई थप संवेदनशील बनाइरहेको छ । सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरे पनि समयमा निर्वाचन हुन नसक्ने आशंकाले बजारमा अनिश्चितता थपेको चर्चा छ । विगतका अनुभव अनुसार नेपाली पुँजी बजार राजनीतिक स्थिरतासँग अत्यन्तै संवेदनशील छ । साना राजनीतिक संकेतले पनि बजारमा ठूलो उतार–चढाव ल्याउने गरेको इतिहास छ ।

जेनजी प्रदर्शनपछि बजारका लगानीकर्ता अतालिएको अवस्थालाई मध्यनजर गर्दै अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरे । असोज २ गते नेप्सेमा ठूलो गिरावट आएपछि भोलिपल्ट खनालले नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल बनाएका थिए । उक्त कार्यदलले बजारको तत्कालीन अवस्थाको अध्ययन गर्दै सुझावसहित प्रतिवेदन बुझायो । कार्यदलको प्रतिवेदनमा अनुसार राष्ट्र बैंकले समेत नीतिगत बाधालाई चिर्दै शेयर बजारका लागि आवश्यक अधिकांश नीतिमा सुधार गर्यो ।

सरकार र नियामक निकायले लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरे पनि बजारले त्यसलाई तत्काल ग्रहण गर्न सकेको देखिँदैन । लगानीकर्ताको मनोविज्ञान अझै पनि सतर्क र प्रतिरक्षात्मक अवस्थामा रहेको विश्लेषण गरिन्छ । धेरै लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमा सीमित हुँदा कारोबारको मात्रा पनि अपेक्षाकृत कम देखिन्छ । बजारमा नयाँ सूचना वा ठोस सकारात्मक संकेत नआएसम्म ठूलो लगानी जोखिममा हाल्न नचाहने प्रवृत्ति बढेको छ ।

समयमै निर्वाचन हुन नसके मुलुक थप राजनीतिक अस्थिरतातर्फ धकेलिन सक्ने आशंकाले पनि बजारलाई दबाबमा राखेको छ । राजनीतिक अस्थिरताले नीतिगत निरन्तरता र आर्थिक निर्णयमा असर पार्ने डर लगानीकर्तामा देखिन्छ । विकास परियोजनाको कार्यान्वयन, बजेट खर्च र निजी क्षेत्रको मनोबलमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले पुँजी बजारले पनि सतर्कता अपनाइरहेको देखिन्छ ।

यसका साथै, जेनजी प्रदर्शनपछिको सामाजिक र राजनीतिक परिवेशले बजारमा नयाँ किसिमको मनोवैज्ञानिक दबाब सिर्जना गरेको चर्चा पनि छ । युवा पुस्ताको असन्तुष्टि, रोजगारीको अभाव र आर्थिक अवसरप्रतिको निराशा जस्ता विषयहरू सार्वजनिक बहसमा आउँदा त्यसको छाया पुँजी बजारसम्म पुगेको विश्लेषकहरू बताउँछन् । दीर्घकालीन लगानीको सट्टा छोटो अवधिको नाफामै केन्द्रित प्रवृत्ति बढ्नु पनि बजार सुस्त हुनुको एक कारणका रूपमा लिइन्छ ।

हालको अवस्थामा नीतिगत सहजता मात्रै पर्याप्त छैन । लगानीकर्ताको विश्वास फर्काउन स्थिर राजनीतिक वातावरण, स्पष्ट आर्थिक दिशा र दीर्घकालीन पूँजी बजार रणनीति आवश्यक छ । बैंकिङ प्रणालीमा रहेको तरलता, घट्दो ब्याजदर र सुधारोन्मुख आर्थिक सूचकहरूलाई बजारसँग प्रभावकारी रूपमा जोड्न नसकिँदा त्यसको प्रतिफल देखिन सकेको छैन ।

शेयर लगानकिर्ता घनश्याम पाण्डे पनि अहिले राजनीति अस्थिरताले नै लगानीकर्ताको मनोबल कमजोर भएको बताउछन् । उनले भने, ‘अहिलेको अवस्था चुनाव हुने नहुने विषयको टुङ्गो छैन । नियामकहरुबाट राहत पाउँदा पाउँदै पनि लगानीकर्ता डराएको अवस्था छ । सोहि कारण पनि बजारले गति लिएको देखिदैन । अर्का कुरा भनेको पुष मसान्तमा जहिले बजार घट्ने मनोसाय लगानीकर्ता छ ।’

अहिलेको राजनीतिक अस्थिरताकोबीच लगानीकर्तालाई दुबै तिरबाट फाइदा हुने भएको कारण शेयर खरिद गर्दा नै बुद्धिमानी हुने पाण्डेको दाबी छ । ‘अहिले संसद पुनःस्थापना भएको खण्डमा समेत सर्वदलिय सरकार बन्छ । जुन सबल सरकार नै हुन्छ । यदि चुनाव भएको खण्डमा अझै उत्तम नै सरकार हुने नै भयो । त्यस कारण अहिले लगानीकर्तालाई दुबै हातमा लड्डु जस्तै छ’ उनले भने, ‘बैंक तथा वित्तीय संस्था नाफा समेत बढ्दै गएको छ । खराब कर्जा घट्दै गएको देखिन्छ । यो लगानीका लागि राम्रो अवसर हो । वित्तीय रुपमा सबल र राम्रो लाभांश दिन सक्ने कम्पनी रोज्नु उत्तम हुनेछ । २।३ महिना होल्ड गर्ने सक्नु हुन्छ भने अहिले लगानीको राम्रो अवसर हो ।’

अर्का लगानीकर्ता तारा फुल्लेल पनि राजनीतिक अस्थिरताका साथसाथै पुष मसान्तको समेत दबाब रहेको हुँदा बजार केहि प्रभावित भइरहेको बताउछन् । उनले भने, ‘नियामक निकाय सबै सकारात्मक रहेको अवस्था छ । तेति हुँदा समेत बजारले गति लिन सकेको छैन । राजनीति अस्थिरता त नेपालमा कहिले हुँदैन र ? अब बजार सधै घटि रहदैन । अब केहि सकारात्मक संकेत आयो भने बजारले गति लिन्छ ।’

अहिले लगानीकर्ताका लागि धैर्य रहेर सकारात्मक माहोल कुर्नु पर्ने बेला रहेको फुल्लेलको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*