वाणिज्य बैंकहरूको बेस रेटमा लगातार गिरावट, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

१७ असार २०८३, बुधबार १३:००

काठमाडौँ । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता, कमजोर कर्जा माग र निक्षेपको ब्याजदरमा आएको गिरावटका कारण २० वटै वाणिज्य बैंकको बेस रेट ओरालो लागिरहेको हो ।

चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसतका आधारमा वाणिज्य बैंकहरूको औसत बेस रेट पहिलो पटक ५ प्रतिशतभन्दा तल झरेर ४.९७ प्रतिशतमा पुगेको छ । बैंकहरूले यही तीन महिनाको औसत आधार दरमा निश्चित प्रिमियम थपेर आगामी महिनाका लागि कर्जाको ब्याजदर निर्धारण गर्ने भएकाले नयाँ ऋण लिने तथा परिवर्तनीय ब्याजदरमा रहेका ऋणीलाई केही राहत पुग्ने छ ।

हाल बैंकहरूले कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्दै आएका छन् । आधार दर घटेसँगै समग्र कर्जा लागत पनि क्रमशः सस्तो बन्दै जाने देखिएको छ ।

बैंकिङ प्रणालीमा अहिले तरलताको अभाव नभई लगानीको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ । आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा निजी क्षेत्रबाट कर्जाको माग कमजोर बनेको छ । त्यसैले बैंकहरूले निक्षेप आकर्षित गर्न उच्च ब्याजदर दिनुपर्ने दबाब हटेको छ र निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । यही कारण आधार दर पनि निरन्तर घटिरहेको हो । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् । तर सो अवधिमा कर्जा विस्तार भने २ खर्ब ८९ अर्ब रुपैयाँमा मात्र सीमित भएको छ । यसले बैंकमा थुप्रिएको लगानीयोग्य रकम पर्याप्त भए पनि निजी क्षेत्रको लगानी मनोबल अझै पूर्ण रूपमा फर्किन सकेको छैन ।

आधार दरलाई ध्यानमा राख्दै सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकजस्ता बैंकहरूलाई प्राथमिकता दिन सक्ने देखिएको छ । यद्यपि, ग्राहकहरूले कर्जाको प्रकृति, बैंकको सेवा स्तर र अन्य शुल्कहरू समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।

पछिल्लो तीन महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण प्रदान गर्ने देखिन्छ । हाल बैंकको आधार दर ४.२१ प्रतिशत रहेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ४.२२ प्रतिशत, एभरेष्ट बैंकको ४.३८ प्रतिशत, नबिल बैंकको ४.५३ प्रतिशत, नेपाल बैंकको ४.५९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.७५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.८३ प्रतिशत, कृषि विकास बैंकको ४.९४ प्रतिशत र सानिमा बैंकको ४.९९ रहेको छ । जसबाट ऋण लिदा ब्याज सस्तो पर्ने देखिन्छ ।

अन्य ११ बैंकको बेसरेट भने ५ प्रतिशतभन्दा माथि रहेको छ । यसअवधिमा प्रभु बैंकको बेस रेट ५.०७ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.०८ प्रतिशत, सिद्धार्थ बैंकको ५.१३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.१६ प्रतिशत, प्राइम बैंकको ५.१८ प्रतिशत, एनएमबि बैंकको ५.१८ प्रतिशत, सिटिजन्स बैंकको ५.२ प्रतिशत, कुमारी बैंकको ५.२७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.२८ प्रतिशत रहेको छ ।

सर्वाधिक आधार दर हुनेमा एनआईसी एशिया बैंक र हिमालयन बैंक अघि रहेको देखिन्छ । यी बैंकहरुको क्रमशः ६.०४ प्रतिशत र ५.३९ प्रतिशत आधार दर रहेको छ । जस कारण ग्राहकले यी बैंकबाट ऋण लिदा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*