पूर्वीचौकी गाउँपालिका: खाजा–गाडी भाडा र अतिथि सत्कारमा ७० लाख खर्च, सवारी मर्मत मै ४५ लाख स्वाहा

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कार, विविध खर्च तथा सवारी साधन मर्मतमा गरेको खर्चप्रति महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ। प्रतिवेदनमा पालिकाले आन्तरिक आयको आकार, मितव्ययिता, कार्यदक्षता तथा खर्चको औचित्यलाई धज्जी उठाउदै सरकारी रकम खर्च गरेको पाइएको हो ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ ले प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र औचित्य कायम हुने व्यवस्था मिलाउनुपर्ने जिम्मेवारी दिएको छ। तर पूर्वीचौकी गाउँपालिकाले चालु आर्थिक वर्षमा विविध खर्चअन्तर्गत अतिथि सत्कारमा मात्रै १५ लाख ६५ हजार १७४ रुपैयाँ खर्च गरेको देखिएको छ। उक्त रकम पालिकाको आन्तरिक आयको ७३.८ प्रतिशत बराबर हो।
पालिकाले यस आर्थिक वर्षमा वडा नम्बर ६ मा वडा अध्यक्षको पुनः उपनिर्वाचन भएका कारण अतिथि सत्कारतर्फ उक्त रकम खर्च भएको जनाएको छ। यद्यपि महालेखा परीक्षकले पालिकाले आफ्नो आन्तरिक आयको आकार र कर्मचारी तथा जनप्रतिनिधिको सुविधा बीच आवश्यक तादम्यता मिलाई चालु खर्चलाई व्यवस्थित तथा मापदण्डमा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
प्रतिवेदनमा पालिकाले खाना, खाजा, गाडी भाडा, मसलन्द, सभा सञ्चालन तथा अन्य विविध शीर्षकमा ५४ लाख ७७ हजार २१४ रुपैयाँ खर्च गरेको पनि उल्लेख छ। यो रकम पालिकाको २० लाख २१ हजार ४९ रुपैयाँ ५८ पैसा रहेको आन्तरिक आयको करिब २७१ प्रतिशत बराबर हो। महालेखा परीक्षकले विविध खर्चलाई आन्तरिक आयको आकारसँग तादम्यता कायम गरी खर्चको औचित्य पुष्टि हुने गरी निश्चित वस्तुगत मापदण्ड बनाई मितव्ययिता अपनाउन पालिकाको ध्यानाकर्षण गराएको छ।
त्यसैगरी सवारी साधन मर्मतमा पनि सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था पालना नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ। नियमावलीको नियम ९६ अनुसार सार्वजनिक निकायसँग आफ्नै मर्मत केन्द्र वा वर्कसप नभएको अवस्थामा लागत अनुमान तयार गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट मर्मत सेवा खरिद गर्नुपर्ने व्यवस्था छ। तर गाउँपालिकाले उक्त प्रक्रिया अवलम्बन नगरी सोझै खरिदमार्फत सवारी साधन मर्मत गराई ४५ लाख १८९ रुपैयाँ ९० पैसा भुक्तानी गरेको महालेखा परीक्षकले जनाएको छ।
प्रतिवेदनमा उल्लेख गरिएका केही मर्मत खर्चअनुसार ब्याकहो लोडरको मर्मत डीएस सोलुसनमार्फत ३१ हजार ३०० रुपैयाँमा गरिएको छ। एक्साभेटरको मर्मत न्यू पीडी अर्थमार्फत २ लाख १० हजार ६४२ रुपैयाँमा गरिएको छ भने जिप मर्मतका लागि नवल अटो पार्टसलाई ३ लाख ५८ हजार ९५६ रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै एम्बुलेन्स मर्मतका लागि ठाकुर अटो केयरलाई ३५ हजार रुपैयाँ, दुई वटा बस मर्मतका लागि ठाकुर अटो केयरलाई ११ लाख १९ हजार १९३ रुपैयाँ ५० पैसा तथा १० वटा मोटरसाइकल मर्मतका लागि नेपाल अटो ट्रेडर्सलाई ५६ हजार रुपैयाँ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
महालेखा परीक्षकले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पालना गर्दै लागत अनुमान स्वीकृत गरी खुला तथा प्रतिस्पर्धात्मक मूल्यमा मर्मत सेवा खरिद गर्नुपर्नेमा सोझै खरिदमार्फत ठूलो रकम खर्च गरिएको भन्दै आगामी दिनमा कानुनी व्यवस्था र मितव्ययितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकालाई सुझाव दिएको छ।
पालिकाको अध्यक्षमा राम प्रसाद उपाध्याय र उपाध्यक्ष पशुपती खड्का रहेका छन् ।











