चुनौतीका बीच प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा उत्साहजनक प्रगति, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

२९ माघ २०८२, बिहीबार ०९:४१

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत भदौको जेन जी आन्दोलन र असोजको बाढी पहिरोबाट परेका ठूलो दाबी र चुनौतीका बीच वित्तीय विवरणमा भने आशालाग्दो प्रगति देखिएको छ।

अन्य निर्जीवन बीमा कम्पनीहरूले घाटा बेहोरिरहँदा प्रभु इन्स्योरेन्सको खुद नाफामा भने वृद्धि देखिएको छ। गत आवको पुस मसान्तसम्म १२ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा २ प्रतिशतको वृद्धि सहित १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २८ करोड २५ लाख रुपैयाँबाट ८.३८ प्रतिशतले बढेर ३० करोड ६२ लाख रुपैयाँ नाघेको छ भने लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४ करोड १५ लाख रुपैयाँबाट १८.३२ प्रतिशतले बढेर ५ करोड नजिक पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४४ करोड ८९ लाख रुपैयाँबाट ८.७६ प्रतिशतले बढेर ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २७ करोड ७४ लाख रुपैयाँबाट झण्डै १३ प्रतिशतले बढेर ३१ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यता अभिकर्तालाई दिइने कमिशन भने १४.८० प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि १४.१२ रुपैयाँबाट बढेर १४.४० रुपैयाँ पुगेको छ भने सोल्भेन्सी अनुपात ४.६६ प्रतिशतबाट बढेर ५.४८ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ २०३.११ रुपैयाँ रहेको छ। चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा झण्डै २० करोड रुपैयाँ सञ्चित रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*