यसरी लुटे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धकले नै १ करोड ६५ लाख

१७ चैत्र २०८२, मंगलवार १३:५७

काठमाडौँ । बैंकलाई ग्राहकले आफ्नो निक्षेप सुरक्षा गर्न प्रमुख संस्थाको रुपमा लिन्छन् । आफ्नो मेहनतको रकम आफ्नो बैंक खातामा राख्छन् । आवश्यक पर्दा झिक्छन्, प्रयोग गर्छन् अनि केही ब्याज समेत प्राप्त गर्छन् । तर, जब कुनै ग्राहकले आफ्नो खातामा लाखौं रकम जम्मा गरेको छ तर झिक्न जाँदा तपाईंको खातामा पैसा छैन भन्ने सुने भने के हुन्छ ? विश्वास नै धक्का लाग्छ । अझ जब यो पैसा बैंककै कर्मचारीले लुटेको खबर बाहिर आउँछ तब ग्राहकको आत्तिनु स्वाभाविकै हुन्छ ।

देश डिजिटलमय हुँदै गर्दा बैंकिङ प्रणालीले सबैलाई सजिलो बनाएको छ । पहिले जहाँ मानिस घरमै सानो बाक्समा रकम राख्थे अहिले सानो रकमका लागि समेत बैंकसम्म जान्छन् । तर, ग्राहकको पैसा बैंकका कर्मचारीले नै लुटेको घटना बाहिर आएको छ ।

कपिलवस्तुको तौलिहवास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक शाखामा यस्तै घटना बाहिर आएको छ, जहाँ शाखा प्रबन्धकको जिम्मेवारीमा रहेको कर्मचारीले अनधिकृत रूपमा ग्राहकको खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ ट्रान्सफर गरेर हिनामिना गरेको पाइएको छ।

ग्राहकले सबैभन्दा बढी विश्वास गर्ने वाणिज्य बैंकमा नै यस्तो ठगीको घटना बाहिर आउँदा ग्राहक त्रसित भएका छन् । बैंकिङ प्रणालीको आन्तरिक सुरक्षा कमजोर भएपछि यस्तो घोटाला सम्भव भएको छ भन्ने तथ्य पुष्टि भएको छ । बैंकका २८ वर्षीय कर्मचारी रिषभ कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी मायादेवी गाउँपालिका वडा नम्बर १, पकडी बस्ने र सोही शाखामा करिब ६ वर्षदेखि कार्यरत थिए।

 

कार्कीले बैंकको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरेर विभिन्न ग्राहकको खाताबाट रकम झिक्ने गरेका थिए । केही खातामा दर्ता मोबाइल नम्बर परिवर्तन गरेर आफ्नो मोबाइल नम्बर राखेका थिए, जसले गर्दा ‘ट्रान्जेक्सन अलर्ट’ ग्राहकसम्म पुग्न नै पाउँदैन थियो ।
यसरी उनले ग्राहकलाई अनभिज्ञ राखेर रकम ट्रान्सफर गर्ने गरेका थिए ।

कार्कीले मोबाइल बैंकिङ र कनेक्ट आइपीएस प्रणालीको प्रयोग गरेर रकम ट्रान्सफर गरेको खुलेको हो । यसमा उनले बैंकका अन्य कर्मचारीको आईडी र पासवर्ड समेत प्रयोग गरेका प्रहरी अनुन्धानबाट बाहिर आएको छ । यसरी रकम हिनामिना गर्दा बैंकले उपलब्ध गराएको सुविधा नै उनको फाइदामा परिणत भएको थियो। मोबाइल नम्बर परिवर्तन, ट्रान्जेक्सन अलर्ट बन्द, अन्य कर्मचारीको आईडी प्रयोग यी सबै माध्यमबाट उनले ग्राहकको निक्षेपमा मनोमानी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय पकडीको टोलीले कार्कीलाई २०८२ चैत ११ गते पक्राउ गरेको थियो। उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको र अन्य संलग्न व्यक्तिहरूको पहिचानको काम भइरहेको जनाएको छ।

यो घटना वित्तीय क्षेत्रमा आन्तरिक सुरक्षा प्रणाली र कर्मचारीको निगरानीको आवश्यकता उजागर गरेको छ। यस घटनाले बैंकिङ प्रणालीको विश्वसनीयतामा प्रश्न उठाएको छ। बैंकले ग्राहकलाई सजिलो र सुरक्षित प्रणाली उपलब्ध गराएको भए पनि कर्मचारीको दुरुपयोगले ग्राहकको विश्वासमा धक्का पुराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*