रिलायबल समृद्धि योजना–२ को ८ करोड ५० लाख इकाई बिक्रीमा

१४ बैशाख २०८३, सोमबार ०७:३४

काठमाडौं । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना रिलायबल समृद्धि योजना–२ का इकाईहरू सार्वजनिक बिक्रीका लागि खुला गरिने भएको छ।

यस योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गरिनेछ जसको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। कुल निष्काशनमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित गरिएको छ।

बीज पूँजीभित्र कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई १ करोड ४० लाख इकाई (१४ प्रतिशत) र योजना व्यवस्थापक रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई १० लाख इकाई (१ प्रतिशत) छुट्याइएको छ। बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक रूपमा बिक्रीमा ल्याइनेछ।

इकाई बिक्री वैशाख २९ गतेबाट शुरु हुने छ। छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बैंकिङ समयपछि आवेदन बन्द हुनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

योजनामा न्यूनतम ५ करोड इकाई बिक्री हुनुपर्ने प्रावधान राखिएको छ। साथै माग बढी भएमा नियामक निर्देशिका अनुसार अधिकतम २५ प्रतिशतसम्म थप इकाई निष्काशन गरी कुल १२ करोड ५० लाख इकाईसम्म बाँडफाँड गर्न सकिनेछ।

यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षको हुनेछ। अवधि पूरा भएपछि योजनाको सम्पत्ति नगदमा परिणत गरी नियमअनुसार इकाईधनीलाई वितरण गरिनेछ।

लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरी आवेदन दिन सक्नेछन्। इकाई बाँडफाँडपछि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरी दोस्रो बजारमा कारोबारको व्यवस्था गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*