साना किसान विकास लघुवित्तको नाफा सहित अधिकांश सूचकमा गिरावट

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरूमा गिरावट देखिएको छ।
गत आवको चैत मसान्तसम्म ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ११.३३ प्रतिशतले घटेर ४८ करोड ३२ लाख रुपैयाँ खुम्चिन पुगेको छ। खुद ब्याज आम्दानी पनि १ अर्ब ३३ करोड ९४ लाख रुपैयाँबाट भारी गिरावट सहित ९६ करोड ४९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।
त्यसैगरी कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड ८१ लाख रुपैयाँबाट घटेर ९४ करोड ८१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ७९ करोड १७ लाख रुपैयाँबाट घटेर ६८ करोड ९८ लाख रुपैयाँमा कायम भएको छ।
वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ७ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब ५४ करोड ९ लाख रुपैयाँमा झर्दा प्रतिशेयर आम्दानी १६.८५ रुपैयाँबाट १३.०८ रुपैयाँमा झरेको छ। खराब कर्जा भने २.५५ बाट ४.१२ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ २१८.४० रुपैयाँ र बेस रेट ३.५१ प्रतिशत छ।
चुक्ता पूँजी ४ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा ४ अर्ब २७ करोड ४७ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ४० अर्ब ६४ करोड रुपैयाँ नाघेको छ।











