बीमा अभिकर्ताका लागि नयाँ आचारसंहिता: गोपनीयता उल्लंघनदेखि दोहोरो भूमिकासम्म निषेध, के छन् नियम ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन २०८३ जारी गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताहरूको कार्यप्रणालीलाई थप व्यवस्थित, व्यावसायिक, पारदर्शी र जवाफदेही बनाउन बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको हो ।
निर्देशनअनुसार केही व्यक्तिहरू बीमा अभिकर्ता बन्न अयोग्य हुने व्यवस्था गरिएको छ । नियम ४२ बमोजिम योग्यता नपुगेका, प्रचलित कानुन अनुसार दामासाहीमा परेका, कालो सूचीमा परेका तर फुकुवा भएको एक वर्ष पूरा नभएका, बीमकसँग स्वार्थ बाझिने अवस्थाका व्यक्ति तथा संस्थागत अभिकर्ताको हकमा करचुक्ता नगरेका वा वित्तीय विवरण लेखापरीक्षण नभएका संस्थाहरूलाई अभिकर्ता बन्न रोक लगाइएको छ ।
त्यस्तै, बीमा क्षेत्रको पेशागत क्षमता अभिवृद्धिका लागि प्रत्येक बीमकले नवीकरण अवधिभर अभिकर्तालाई कम्तीमा १५ घण्टाको पेशागत विकास तालिम दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तो तालिममा बीमाको प्राविधिक पक्ष, कानुनी व्यवस्था र बजार आचरणसम्बन्धी विषयहरू समावेश गर्नुपर्नेछ ।
अभिकर्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रावधानअनुसार उनीहरूले प्राधिकरणबाट प्राप्त इजाजतपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ र आवश्यक परेमा देखाउनुपर्नेछ । साथै, बीमकको तर्फबाट बीमा व्यवसाय सञ्चालन गर्दा आधारभूत सिद्धान्त पालना गर्दै बीमितलाई बीमालेखका सबै सर्त, सुविधा र दाबी प्रक्रियाबारे स्पष्ट र बुझिने भाषामा जानकारी दिनुपर्नेछ ।
ग्राहकले माग गरेमा सम्बन्धित बीमकको वित्तीय अवस्थाबारे यथार्थ जानकारी दिनुपर्ने, प्रस्ताव फाराम पूर्ण रूपमा भराउन सहयोग गर्नुपर्ने, आवश्यक कागजात संकलन गरी बीमकसमक्ष पेश गर्नुपर्ने तथा बीमालेख नवीकरण र दाबी प्रक्रियामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने दायित्व पनि तोकिएको छ । साथै, बीमितको जोखिम, वित्तीय क्षमता र आवश्यकताको आधारमा मात्र बीमालेख सिफारिस गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ ।
निर्देशनले अभिकर्ताले पालना गर्नुपर्ने आचारसंहितालाई पनि कडाइका साथ परिभाषित गरेको छ । अभिकर्ताले आफ्नो इजाजतपत्र सधैं साथमा राख्नुपर्ने, कुनै स्वार्थ भएमा खुलासा गर्नुपर्ने, ग्राहकलाई सम्पूर्ण जानकारी सत्य र स्पष्ट रूपमा दिनुपर्ने तथा गोपनीयता कायम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, अभिकर्ताले ग्राहकको कागजात ढाँटी वा लुकाउन नहुने, प्रस्ताव फाराम स्वयं ग्राहकबाट भराउनुपर्ने, नवीकरण, बीमाशुल्क भुक्तानी, ऋण सुविधा तथा दाबी प्रक्रियामा सक्रिय सहयोग गर्नुपर्ने उल्लेख छ ।
यता, निषेधित कार्यहरूमा अस्वस्थ प्रतिस्पर्धा गर्ने, कमिसन फिर्ता दिने वा उपहारजस्ता प्रलोभन देखाउने, बिना इजाजत व्यवसाय गर्ने, ग्राहकको गोपनीयता भंग गर्ने, करकाप वा दुर्व्यवहार गर्ने, अनुचित आर्थिक लाभ लिने, दोहोरो भूमिका निर्वाह गर्ने, दर तथा सर्त उल्लंघन गर्ने, भ्रामक प्रचार गर्ने तथा जालसाजी वा किर्ते कार्य गर्ने पूर्ण रूपमा निषेध गरिएको छ ।











