बीमितले आम्दानीको २०% मात्रै बीमा गर्यो भने बचत र भविष्य दुबै सुरक्षित हुन्छः अर्पना थपलिया

१७ असार २०८३, बुधबार १६:४३

अर्पना थपलिया विगत ११ वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा कार्यरत छिन् । बीमा क्षेत्रमा नै भविष्य देखेकी थपलियाले बीमा क्षेत्रमा एड्भाईजरको रुपमा आफूलाई परिचित गराएकी छिन् ।
छोटो समयमा नै सफलता हासिल गरेकी थपलियाको बीमा अभिकर्ता पेशासँग सम्बन्धीत रोचक जानकारी अबको कुराकानीमाः

अभिकर्ता पेशामा कसरी आइपुग्नुभयो?

मैले अध्ययन नै बैंक तथा बीमा सम्बन्धी गरेको हुँ तसर्थ मलाई बीमाप्रति पहिल्यैदेखि चासो थियो। मैले आफ्नो चाहिं बीमा गराइसकेको थिएँ तर एकदिन हाम्रै घरपरिवारमा घटेको अप्रत्याशित घटनाका कारण म अझै यस क्षेत्रमा आकर्षित भएँ र अभिकर्ता पेशाको माध्यमबाट अरुलाई पनि बीमा मार्फत जोखिम रक्षावरण गर्ने चाहना राखेरै यस क्षेत्रमा आएको हुँ।

यो पेशामा आवद्ध भएको कति समय भयो अनि पहिले र अहिलेमा के फरक छ?

म यो पेशामा २०७२ सालमा आवद्ध भएको हुँ। विगत ११ वर्षदेखि निरन्तर यही पेशामा छु। पहिले र अहिले धेरै नै फरक छ। पहिले शिक्षित व्यक्तिहरूले पनि बीमा बारे जानेका हुँदैनथे। उहाँहरूलाई बीमा अनावश्यक, झन्झट र खर्चिलो लाग्थ्यो। पहिले पैसा नभएर भन्दा पनि बीमा बारे नबुझेका कारण बीमा गर्न इन्कार गर्नुहुन्थ्यो। तर अलिहे प्रायः धेरैजनाले बीमा बारे बुझेका छन् अझ कतिपयले त आफैंले बीमा पोलिसी चयन गरेर बीमा गराइदिनपर्यो भनेर पनि आउनुहुन्छ।

तपाईंको विचारमा जीवन बीमा भनेको के हो र यो किन गर्ने?

जीवन बीमा भनेको यस्तो सम्झौता हो जसले बीमितको जीवन, स्वास्थ्य र भविष्यमा आउनसक्ने भवितव्यबाट आर्थिक क्षतिलाई न्यूनीकरण गर्छ। जीवन बीमा अपरिहार्य साधन हो यो सबैले गर्नुपर्छ। नयाँ बच्चा जन्मिन्छ भने पनि अभिभावकले बच्चाको भविष्यका लागि बीमा गर्नुपर्छ भन्ने धारणा छ मेरो।

कुन उमेर समूहका मानिसले बढी बीमा गर्नुहुन्छ?

धेरैजसो ३० देखि ५० वर्षका मासिनहरूले बीमा गनुहुन्छ। १५ देखि २० वर्षका मानिसहरूमा बीमा गराउन धेरै चाहना हुन्छ तर तिर्न सक्ने क्षमता नहुने भएकाले ३० देखि ५० वर्ष समूहका धेरै मानिसहरू सक्रिय रूपमा बीमा गराउनुहुन्छ। त्यसमा पनि अमृत वर्षा भन्ने पोलिसी धेरैले लिनुहुन्छ। जम्मा ४ वर्षमात्र प्रिमियम तिरेमा त्यहीबाट आएको बोनसले प्रिमियम तिर्न सकिने सुविधा भएकाले धेरैले त्यसलाई मन पराउनुभएको छ। वैदेशिक रोजगारीमा गएका र नेपालमा व्यापार गर्नेको सर्वाधिक रोजाइमा छ। अर्काे अमृत श्री पोलिसी छ। त्यसमा २ चोटि प्रिमियम तिरेपछि तेस्रो पटकदेखि बीमांकको ५ प्रतिशत क्यासब्याक भएर प्रिमियम कम हुन्छ। जस्तो २५ लाखको बीमामा २ लाख १५ हजार गरी २ चोटि प्रिमियम तिरेपछि तेस्रो वर्षदेखि १ लाख २५ हजार रुपैयाँ क्यासब्याक हुन्छ र बाँकी ८०–८५ हजार रुपैयाँ मात्रै तिरेर ५० लाखको रिस्क कभरेज पाइन्छ।

बीमितको विश्वास जित्ज कत्तिको सहज असहज हुन्छ?

पहिलो कुरा कम्पनी कस्तो छ भन्दा पनि अभिकर्ता कस्तो छ र अभिकर्ताले कस्तो छवी बनाएको छ भन्ने कुरा बीमितको विश्वास जित्न धेरै महत्वपूर्ण हुन्छ। समाजमा राम्रो छवी बनाएको व्यक्तिलाई पोलिसी बिक्री गर्न कुनै गाह्रो काम होइन।

बीमा कस्का लागि जरुरी हुन्छ?
बीमा आफ्नो लागि जरुरी त छँदैछ तर जो आफूमा आश्रित परिवार छन् उहाँहरूका लागि त झनै जरुरी साधन हो जीवन बीमा।

अभिकर्ताले क्षमताभन्दा ठूलो बीमा गराउँदा सरेण्डर दर बढ्दै गएको भनिन्छ नि?

यसमा सर्वप्रथम मान्छेको आम्दानी के कति छ त्यसमा ध्यान दिनुपर्छ। कसैले आफ्नो आम्दानीको २० प्रतिशत मात्रै बचत गरे पनि त्यो एकदमै राम्रो हो। आज हामी काम गर्न सक्छौं तर भोलि गएर हामीले काम गर्न नसक्दा त्यही बचत गरेको पैसा साहारा बन्छ। आज १ लाख रुपैयाँ कमाइन्छ भने २० हजार रुपैयाँ मात्रै बीमामा छुट्याउन सकियो भने पनि वर्षको २ लाख ४० हजार बचत हुन्छ। त्यति रकमले त ५० लाख रुपैयाँसम्मको पोलिसी किन्न सकिन्छ। ५० लाखको बीमा गर्न सकियो भने त पछि गएर आफ्नो सपना साकार गर्न, छोराछोरीलाई पढाउन वा बुढेसकालको साहारा पनि हुन्छ। तर बीचैमा केही भइहालेमा परिवारलाई आर्थिक संकटबाट बचाउन सकिन्छ।

तपाईंले हालसम्म कति बीमा गराउनुभयो अनि कति दाबी पर्यो?

मैले ११ वर्षको दौरानमा ४५० देखि ५०० जनासम्मको बीमा गराइसकेको छु। भाग्यवश आजसम्म कुनै पनि दाबी परेको छैन। सबै बीमितहरू स्वस्थ्य हुनुहुन्छ र कुनै अप्रत्याशित घटना पनि घटेको छैन। बरु कतिपयले बीमा परिपक्व भएर प्रतिफल लगिसक्नु भयो।

बीमितले राइडर सेवा कत्तिको लिनुहुन्छ?

बीमितलाई कन्भिन्स गर्न सकियो भने अवस्य लिनुहुन्छ। एडीबी (एक्सिडेन्टल डेथ बेनिफिट) राइडर जसमा दुर्घटनाबाट मृत्यु भएमा बीमांकको दोब्बर पाइन्छ। अर्काे डब्लूओपी (वेभर अफ प्रिमियम) भन्ने छ त्यसमा घातक रोग लागेमा बीमाशुल्क मिनाहा हुने र क्रिकिटल इलिनेश भन्ने राइडर पनि धेरैले लिनुहुन्छ।

कम्पनी वा नियामक निकायबाट के अपेक्षा गर्नुहुन्छ?

मेरो अनुसार त सबै राम्रै गरिरहनु भएको छ जस्तो लाग्छ। सरकारलाई के भन्न चाहन्छु भने बीमा गराउनेलाई ४० हजार रुपैयाँसम्म, स्वास्थ्यमा अधिकतम २० हजारसम्म, निर्जीवनतर्फ घर बीमामा ५ हजारसम्म कर कटौतीको सुविधा दिइएको छ सकिन्छ भने यसलाई अझै बढाउँदै लानुपर्छ। एकैचोटी बढाउन सम्भव नभएपनि बिस्तारै बिस्तारै कर कटौतीको सुविधा थप गर्दै जानुपर्छ। पछिल्लो समय धेरैजना बीमाप्रति उत्सुक हुनुहुन्छ यसलाई थप विस्तार गराउन सरकार र कम्पनीहरूले समयसमयमा बीमितका लागि लाभदायी सुविधाहरू ल्याइदिओस् भन्ने चाहन्छु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*