अभिकर्ताको क्षमता र व्यावसायिकता बढाउँदै सन नेपाल लाइफ, लुम्बिनी प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

३१ श्रावण २०८३, आईतवार ११:४४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लब एचिभर्स अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले अभिकर्ताको योगदान, सक्रियता र व्यावसायिक सफलताको कदर गर्दै लुम्बिनी ग्रिन रिसोर्ट, चन्द्रौटामा विशेष सम्मान तथा उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालको प्रमुख आतिथ्यता, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यता तथा लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्रीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन राप्ती रिजनल प्रमुख दिपेन्द्र रावतले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले नेपालको जीवन बीमा क्षेत्रमा अझै विभिन्न किसिमका खाडल रहेको बताए। जीवन बीमाप्रतिको विश्वसनीयता, बीमाले प्रदान गर्ने आर्थिक सुरक्षा, पोलिसीहोल्डरलाई दिइने बीमा शिक्षा तथा प्रविधिको प्रयोगलगायतका क्षेत्रमा सुधारको आवश्यकता रहेको उनको भनाइ थियो।

उनले यस्ता खाडल पूर्ति गर्न अभिकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अभिकर्तालाई कम्पनीको व्यवसाय विस्तारको प्रमुख आधारका रूपमा चित्रण गरे। अभिकर्ताको क्षमता विकास, वृद्धि, प्रोत्साहन तथा सम्मानलाई कम्पनीले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

अर्यालले जीवन बीमा व्यवसायलाई केवल पोलिसी बिक्रीमा सीमित नराखी बीमितलाई उचित जानकारी, सेवा र दीर्घकालीन सम्बन्ध प्रदान गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनका अनुसार बीमितको विश्वास कायम गर्न सके मात्रै जीवन बीमाको पहुँच थप विस्तार गर्न सकिन्छ।

त्यसैगरी चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंले जीवन बीमा क्षेत्रमा सफल हुन अभिकर्ताले अपनाउनुपर्ने व्यावसायिक अभ्यास, नेपाली जीवन बीमा क्षेत्रको समग्र अवस्था तथा नयाँ बजार रणनीतिका विषयमा जानकारी गराए।

उनले अभिकर्ताले आफ्नो कामलाई व्यावसायिक ढंगले अघि बढाउँदै निरन्तर सिक्ने, ग्राहकको आवश्यकता बुझ्ने र सोहीअनुसार बीमा समाधान प्रस्तुत गर्नुपर्ने बताए। कार्यक्रममा उनले जीवन बीमा क्षेत्रमा कसरी दीर्घकालीन सफलता हासिल गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणात्मक प्रशिक्षणसमेत दिएका थिए।

कार्यक्रममा लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्रीले सन नेपाल लाइफले अभिकर्तालाई लक्षित गरी ल्याएको आर्थिक वर्ष २०८३/८४ को बिक्री नीतिका प्रमुख विषयमा उपस्थित एडीएम तथा अभिकर्ता नेतृत्वलाई जानकारी गराए।

उनले जीवन बीमा क्षेत्रमा सफल हुन सबैभन्दा पहिले स्पष्ट लक्ष्य र ‘मिसन’ निर्धारण गर्नुपर्ने बताए। निर्धारित लक्ष्य प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिँदै क्षेत्रीले अभिकर्तालाई बिक्रीपछिको सेवामा समेत विशेष ध्यान दिन आग्रह गरे।

पोलिसी बिक्री गरेपछि अभिकर्ताको जिम्मेवारी सकिँदैन बरु त्यसपछि बीमितसँगको वास्तविक सम्बन्ध शुरु हुन्छ भन्ने भावमा उनले बीमितलाई समयमै र प्रभावकारी सेवा दिन सके अभिकर्ताप्रति विश्वास बढ्ने र दीर्घकालीन व्यवसाय निर्माण गर्न सहज हुने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रबाट उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेका योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मानित अभिकर्ताहरूले कम्पनीबाट प्राप्त सम्मानले आफ्नो कामप्रति थप जिम्मेवारी र ऊर्जा बढेको बताएका थिए।

सन नेपाल लाइफले अभिकर्ताको क्षमता अभिवृद्धि, नेतृत्व विकास, नयाँ बजार पहिचान तथा व्यावसायिक दक्षता बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। उक्त कार्यक्रममा ग्राहकको आवश्यकता र आर्थिक अवस्थाअनुसार उपयुक्त बीमा योजना छनोटमा सहयोग गर्दै बीमितलाई दीर्घकालीन सेवा दिनुपर्नेमा जोड दिइएको थियो।

सन नेपाल लाइफले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास, प्रोत्साहन र सम्मानलाई प्राथमिकतामा राख्दै जीवन बीमाको पहुँच थप विस्तार गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*