ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यवसाय बढ्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.३४ प्रतिशतले घटेर ३ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यस्तो नाफा ४६ लाख ३९ हजार रुपैयाँ रहेको थियो।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७१ पैसाबाट घटेर मात्र ६ पैसामा सीमित हुन पुगेको छ । यद्यपि नाफामा गिरावट आए पनि कम्पनीको मुख्य व्यवसाय बीमा शुल्क आर्जनमा भने आक्रामक सुधार देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १० करोड ६६ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो वर्षको ४ करोड ५८ लाख ६५ हजार रुपैयाँको तुलनामा १३२.५७ प्रतिशतको वृद्धि हो ।
यसैगरी कम्पनीको बीमा कोष ३८.६३ प्रतिशतले वृद्धि भई २३ करोड १५ लाख ४० हजार रुपैयाँ कायम भएको छ । कम्पनीको कुल दाबी भुक्तानी १६५.१९ प्रतिशतले बढेर ८ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ४३.९६ प्रतिशतले वृद्धि भई १५ करोड ७८ लाख ४३ हजार रुपैयाँ पुगेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात भने १.९८ रहेको छ ।












