नेपाली बजारमा ‘वाईवाई चाउचाउ’ को बिक्री घट्दो, वर्षदिनमा सीजी फुड्सको ६५ करोडले खुम्चियो व्यापार

२५ असार २०८३, बिहीबार १२:४८

काठमाडौँ । नेपाली बजारमा ‘वाईवाई’ चाउचाउ बिक्री वितरण गर्दै आइरहेको चौधरी समूहअन्तर्गतको सीजी फुड्स (नेपाल) लिमिटेडको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परेको देखिएको छ । चाउचाउ बिक्रीमा कमी आएसँगै कम्पनीको सञ्चालन आम्दानी र नाफा निरन्तर ओरालो लागि रहेको हो ।

वर्षदिनमा कम्पनीको झण्डै ६५ करोडले सञ्चालन आम्दानी घटेको छ । सीजी फुड्सको मात्रै वर्षमा ३३ करोड २० लाख र सीजी फुड्सका तीन सहायक कम्पनीको ३१ करोड ८० लाख रुपैयाँले व्यापार घटेको हो ।

सीजी फुड्सले सन् २०२५ मा ७ अर्ब ७७ करोडको व्यापार गरेको छ ।  विवरणअनुसार यसअघि सन् २०२३ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२४ मा घटेर ८ अर्ब १० करोड २० लाख रुपैयाँमा सीमित भएको थियो । चालु आर्थिक वर्षको नौ महिनामै सञ्चालन आम्दानी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँमा सीमित रहेको छ ।

कम्पनीले सञ्चालन गरी रहेको तीनवटा सहायक कम्पनीहरुसहित सन् २०२५ मा ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुत गत आर्थिक वर्षको तुलनामा ३१ करोड ८० लाख रुपैयाँले कम हो । यसअघि सन् २०२३ मा १२ अर्ब ५१ करोड ३० लाख र सन् २०२४ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

सन् १९८४ मा काठमाडौंस्थित पहिलो उद्योगबाट व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले थाइल्यान्डको थाई प्रिजभ्र्ड फुड फ्याक्ट्रीसँग प्राविधिक सहकार्यमा सञ्चालन प्रारम्भ गरेको थियो । कम्पनी तथा यसका तीन बहुमत स्वामित्व भएका सहायक कम्पनीहरूले तीन भौगोलिक क्षेत्रमा चाउचाउ, पेयपदार्थ, एक्स्ट्रुडेड स्न्याक्सलगायत द्रुत उपभोग्य वस्तु उत्पादन गर्दै आएका छन् । ‘वाईवाई’ यसको प्रमुख चाउचाउ ब्रान्ड भए पनि ‘रियो’, ‘क्विक्स’ लगायतका अन्य ब्रान्डमार्फत पनि उत्पादन बजारमा ल्याउँदै आएको छ ।

सञ्चालन नाफाको अवस्था पनि स्थिर रहन सकेको छैन। एकल आधारमा सञ्चालन नाफा मार्जिन सन् २०२३ मा ८.२ प्रतिशत रहेकामा सन् २०२४ मा ११.१ प्रतिशत पुगे पनि सन् २०२५ मा तीव्र रूपमा घटेर ६.३ प्रतिशतमा सीमित भएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो सूचक ११.२ प्रतिशत पुगे पनि अघिल्ला वर्षको तीव्र गिरावटले सञ्चालन दक्षतामा अस्थिरता देखाएको छ ।

तीनवटा सहायक कम्पनीहरु समेकित आधारमा पनि सन् २०२३ मा ९.४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा १२.१ प्रतिशत पुगेपछि सन् २०२५ मा फेरि घटेर ६.६ प्रतिशतमा सीमित भएको छ ।

सीजी फुड्सको मात्रै ऋणभार भने तुलनात्मक रूपमा कम रहे पनि आम्दानी र नाफामा आएको कमजोरीका कारण त्यसको सकारात्मक प्रभाव पर्याप्त देखिएको छैन । कुल ऋण र मूर्त खुद सम्पत्तिबीचको अनुपात सन् २०२३, सन् २०२४, सन् २०२५ तथा चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म ०.२ गुणामै स्थिर रहेको छ ।

सीजी फुड्सको मात्रै बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात सन् २०२३ मा ०.६ गुणा रहेकामा सन् २०२४ र सन् २०२५ मा ०.८ गुणा पुगेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ०.७ गुणामा झरेको छ ।

कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात पनि उतारचढावपूर्ण देखिएको छ । यो अनुपात सन् २०२३ मा ०.८ गुणा, सन् २०२४ मा ०.६ गुणा, सन् २०२५ मा बढेर १.१ गुणा पुगेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा फेरि ०.६ गुणामा झरेको छ ।

ब्याज तिर्ने क्षमता तथा ऋण सेवा गर्ने क्षमताका सूचकहरू संख्यात्मक रूपमा सहज देखिए पनि ती सूचकहरू नाफाको अस्थिरताबीच कायम रहनु भविष्यका लागि चुनौतीरहित मान्न सकिने अवस्था छैन । ब्याज भुक्तानी क्षमता सन् २०२३ मा १२.३ गुणा, सन् २०२४ मा २१.७ गुणा, सन् २०२५ मा १२.८ गुणा तथा चालु आर्थिक वर्षकोे पहिलो नौ महिनामा २५.८ गुणा रहेको छ।

कम्पनीका प्रमुख शेयरधनीमा निर्वाण चौधरीको करिब ७६ प्रतिशत, अपोलो इन्भेस्टमेन्ट प्रालिको करिब २० प्रतिशत, वरुण चौधरीको करिब ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत तथा बाँकी स्वामित्व अन्य तीन सेयरधनीसँग रहेको छ । कम्पनी सन् २०२३ मा निजी लिमिटेडबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।

इक्रा नेपालले कम्पनीको ९९ करोड ५५ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको मूल्याङ्कन पुनः पुष्टि गरेको छ । कम्पनीको ९९ करोड ५५ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमालाई यसअघि प्रदान गरिएको ‘इक्रा एनपीे ए–वान’ मूल्याङ्कनलाई यथावत् राख्दै पुनः पुष्टि गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*