बलेफी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष भाडाको घरमा, एक वर्षमै ४ लाख २० हजार खर्च

२८ असार २०८३, आईतवार १४:४८

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ र उपाध्यक्ष सरु लामा तामाङका लागि कानून विपरीत घर भाडामा लिएर ४ लाख २० हजार रुपैयाँ खर्च गरेको पाइएको छ।

प्रतिवेदनअनुसार बागमती प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५ को दफा २, ३, ४, ५ र ६ तथा सो ऐनको अनुसूची १ (क), १ (ख) र १ (ग) मा स्थानीय तहका पदाधिकारीलाई घरभाडा सुविधा उपलब्ध गराउने कुनै व्यवस्था नै छैन। तर बलेफी गाउँपालिकाले कानुनी आधारबिना अध्यक्ष र उपाध्यक्षका लागि घर भाडामा लिएर सरकारी रकम खर्च गरेको पाइएको हो।

प्रतिवेदनमा उल्लेख भएअनुसार गाउँपालिका अध्यक्षका लागि मदन कुमार तामाङको घर मासिक २० हजार रुपैयाँका दरले घर भाडामा लिइएको थियो। यसबापत उक्त आर्थिक वर्षमा २ लाख ४० हजार रुपैयाँ भुक्तानी गरिएको छ। त्यसैगरी उपाध्यक्षका लागि श्री देवी श्रेष्ठको घर मासिक १५ हजार रुपैयाँका दरले घर भाडामा लिई सो आर्थिक वर्षमा १ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको देखिएको छ।

यसरी अध्यक्ष र उपाध्यक्षको आवास व्यवस्थापनका नाममा कुल ४ लाख २० हजार रुपैयाँ खर्च भएको भए पनि सो सुविधा सम्बन्धित ऐनमा व्यवस्था नभएकाले उक्त रकम अनियमित खर्च भएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको हो। जनताको करबाट उठेको पैसाले नियमविपरीत घर भाडामा लिएर बस्नुलाई महालेखाले अनियमित भनेको हो।

यस विषयमा बुझ्न गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङलाई सम्पर्क गर्दा उक्त आर्थिक वर्षमा घर भाडामा लिएर बसेको स्वीकार गर्दै महालेखाले अनियमित भनेर देखाएपछि रकम फिर्ता गरिएको बताए। “त्यो घरभाडा बापतको रकम अहिले हामीले फिर्ता गरिसकेका छौं।” उनले भने।

महालेखाले स्थानीय तहले सार्वजनिक स्रोतको उपयोग गर्दा प्रचलित कानुन र सेवा सुविधा सम्बन्धी व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छ। कानुनमा व्यवस्था नै नभएको सुविधा उपलब्ध गराउँदा राज्यकोषमा अनावश्यक भार पर्ने र वित्तीय अनुशासन कमजोर हुने जोखिम रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*