बागमती प्रदेशमा मन्त्रालय घट्यो, १४ बाट आठमा झर्यो

१ श्रावण २०८३, शुक्रबार १२:३२

काठमाडौं । आज साउन १ गतेबाट नयाँ आर्थिक वर्ष शुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा झारेको छ। बाग्मती प्रदेश सरकारको गत वैशाख २२ गते बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालय घटाउने निर्णय गरेकोमा आजदेखि निर्णय कार्यान्वयनमा गएको हो।

मन्त्रालयको संख्या घटेसँगै बागमती प्रदेश मन्त्रिपरिषदको संरचना पनि बदलिएको छ। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित आठ मन्त्रालय कायम गरी सोही बमोजिम कार्यविभाजन गरिएको हो।

नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्रीमा बानियाँ छन् भने कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा मधुसूदन पौडेल रहेका छन्। यता आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मा शिवराज अधिकारीले पाएका छन् भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चनचन्द्र वादेले पाएका छन्।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा डा. दिनेशचन्द्र देवकोटाले पाउँदा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा प्रभात तामाङले पाएका छन्। यता खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णबहादुर तामाङ बनेका छन् भने उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ बनेकी छन्। किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई भने विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*