सरकारले १५ वर्षे विकास ऋणपत्रमार्फत एक अर्ब उठाउँदै

१९ श्रावण २०८३, मंगलवार १०:२०

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नपुग्दै आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्न बोलकबोल आह्वान गरेको हो।

कार्यालयका अनुसार ‘१५ वर्षे विकास ऋणपत्र–२०९८’ साउन २० गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने साउन २१ गते ऋणपत्र निष्कासन हुनेछ।

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन्। इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेश गर्न सक्ने कार्यालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कुल ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने योजना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*