देवानगञ्ज गोलीकाण्ड: उपचाररत घाइतेको पनि मृत्यु

काठमाडौँ । १० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको साम्प्रदायिक तनावका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट घाइते भएका एक युवकको उपचारका क्रममा ज्यान गएपछि उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
पछिल्लोपटक निधन भएका २१ वर्षीय रवीन्द्रकुमार मेहता काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत थिए। यसअघि घटनाकै दिन २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने केही दिनपछि २२ वर्षीय जयप्रकाश मेहताले पनि उपचारकै क्रममा प्राण गुमाएका थिए।
उक्त झडपमा गोली लागेर धेरै व्यक्ति गम्भीर घाइते भएका छन्। केहीलाई विराटनगरका विभिन्न अस्पतालमा उपचार गरिँदै आएको छ भने अवस्था जटिल भएका बिरामीलाई हवाई माध्यमबाट काठमाडौं लगेर विशेषज्ञ उपचार भइरहेको छ। घाइतेमध्ये कसैको पेट, तिघ्रा, हात, ढाड तथा कम्मरमा गोली लागेको जनाइएको छ।











