बढ्यो हवाई भाडा, अब कहाँ जान कति रकम ?

१९ श्रावण २०८३, मंगलवार १९:३०

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हेलिकोप्टर चार्टर तथा उद्धार (रेस्क्यु) उडानको भाडादर वृद्धि गरेको छ। संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संशोधित भाडादर आगामी असोज १ गते (सेप्टेम्बर १५) देखि लागू हुने जनाएको छ।

संघका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा हवाई इन्धनको मूल्य उल्लेख्य रूपमा बढ्नु, सप्लाई चेनमा अवरोध आउनु, युरोको विनिमय दरमा उतारचढाव हुनु, स्पेयर पार्टपुर्जा, उड्डयनसम्बन्धी शुल्क तथा प्रशासनिक खर्च वृद्धि हुनुले भाडादर समायोजन गर्नुपरेको हो।

नयाँ भाडादर नियमित आन्तरिक हेलिकोप्टर उडान, चार्टर सेवा तथा नेपाली नागरिकका लागि सहुलियतपूर्ण उद्धार उडानमा लागू हुने संघले जनाएको छ। सेवा सञ्चालनलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउन लागतअनुसार भाडा समायोजन गरिएको भन्दै यात्रुलाई नयाँ दरबारे जानकारी राखेर यात्रा योजना बनाउन पनि आग्रह गरिएको छ।

संघले सार्वजनिक गरेको नयाँ भाडादरअनुसार काठमाडौं–लुक्ला चार्टर उडानको शुल्क ३ हजार अमेरिकी डलर कायम गरिएको छ। काठमाडौं–एभरेष्ट आधार शिविर (ईबीसी) चार्टरका लागि ४ हजार ६ सयदेखि ५ हजार ३ सय अमेरिकी डलरसम्म तोकिएको छ भने काठमाडौं–सिमिकोट चार्टरको शुल्क १२ हजार अमेरिकी डलर निर्धारण गरिएको छ।

त्यस्तै, पोखरा–अन्नपूर्ण आधार शिविर (एबीसी) चार्टरको शुल्क २ हजारदेखि २ हजार ५ सय अमेरिकी डलर कायम गरिएको छ। जोमसोम, मुक्तिनाथ, मनाङ, डोल्पा, मुस्ताङ, कञ्चनजंघा, मकालु लगायतका हिमाली तथा दुर्गम गन्तव्यका चार्टर दर पनि पुनःनिर्धारण गरिएको संघले जनाएको छ।

नेपाली नागरिकका लागि उद्धार उडानको छुट्टै भाडादर पनि सार्वजनिक गरिएको छ। नयाँ दरअनुसार काठमाडौंभित्र उद्धार उडानको शुल्क १ लाख २८ हजार रुपैयाँ, पोखराका लागि ३ लाख ८२ हजार रुपैयाँ, भरतपुरका लागि २ लाख ५५ हजार रुपैयाँ र धनगढीका लागि १३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*