तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका –०२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
बुधबार राति करिब २ः३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए ।
दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा बिहान ९ः१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन् । दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ ।











