भ्याक्सिनेटरको भुक्तानीमा २० प्रतिशत कमिसन माग्ने राजविराज नगरपालिकाका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२० श्रावण २०८३, बुधबार १७:११

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख (पशु विकास अधिकृत/आठौँ) डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनस्वरूप घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा डा. दासले आफ्नो कार्यालयबाट सञ्चालन गरिएको पशु खोप कार्यक्रममा नियुक्त गरिएका भ्याक्सिनेटरहरूलाई कानुनबमोजिम प्राप्त गर्नुपर्ने पारिश्रमिक भुक्तानी गराइदिएबापत कम्तीमा २० प्रतिशत रकम घुस दिनुपर्ने भन्दै सवारी चालक यादवसँग मिलेमतो गरी बार्गेनिङ गरेको खुलेको आयोगले जनाएको छ। आयोगका अनुसार उनीहरूले भुक्तानी रकम प्राप्त गर्न बाध्यात्मक अवस्था सिर्जना गर्दै सेवाग्राहीबाट घुस असुलेका थिए।

अनुसन्धानबाट डा. राम पवित्र दास र भोगेन्द्र यादवले रु. १ लाख ३२ हजार ३५० घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुर ठहर गर्दै आयोगले दुवै जनाविरुद्ध बिगो रु. १ लाख ३२ हजार ३५० कायम गरी सोही ऐनबमोजिम कैद तथा बिगो बराबरको जरिवाना सजायको मागदाबीसहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*