राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू, मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म कसको कति?

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब, ग्रेड र सुविधामा वृद्धि गर्दै नयाँ तलबमान लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको नयाँ व्यवस्था अर्थ मन्त्रालयले साउन २० गते परिपत्रमार्फत कार्यान्वयनमा आएको जानकारी दिएको हो।
नयाँ तलबमान निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूमा लागू हुनेछ।
संशोधित तलब संरचनाअनुसार मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै सचिव, रथी, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकले मासिक ८४ हजार ५ सय ७६ रुपैयाँ तलब पाउने भएका छन्। सबैभन्दा तल्लो तहका कार्यालय सहयोगी (प्रथम स्तर) को मासिक तलब भने २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ।
सरकारले तलब वृद्धिसँगै कर्मचारीलाई थप सुविधा पनि उपलब्ध गराउने भएको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक कर्मचारीले एक दिनको तलब बराबरको ग्रेड रकम प्राप्त गर्नेछन् भने संशोधित आधारभूत तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि पाउनेछन्।











