सत्तामा युवा कि वायु ?

प्रल्हाद रिजाल
२१ श्रावण २०८३, बिहीबार ११:५६

जेनजी विद्रोहपछिको चुनावमा झण्डै दुई तिहाइ बहुमत जितेर राष्ट्रिय स्वतन्त्र पार्टीका नवआगन्तुक वरिष्ठ नेता बालेन भनिने वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते बनेको सरकार ‘युवा सरकार हो कि वायु सरकार हो’ भनेर छुट्याउन बुद्धिजीवीहरूलाई समेत हम्मे–हम्मे परेको छ ।

बालेन सरकारमा उमेरका हिसाबले एक जना महावीर पुन मात्रै वृद्ध मन्त्री छन् । रास्वपाको बहुमतको सरकारमा एक जना म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेका पुनले मन्त्री बन्न मिल्दैनथियो र प्रधानमन्त्री बालेनले उनलाई आफ्नो पार्टीमा प्रवेश नगराई मन्त्री बनाउन संविधानका धाराहरूले नै छेकबार लगाएको थाहा पाउनुपथ्र्यो ।

प्रधानमन्त्रीले बेधारा पुनलाई मन्त्री बनाउन सिफारिस गरे पनि संविधानको संरक्षक मानिएका राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्री नियुक्त गर्न हुने थिएन । शपथ खुवाउन रोक्नुपर्ने थियो तर आफैँ सत्ताको टोकसोमा परेका पौडेलले आफ्ना आसेपासे स्वार्थी सल्लाहकारहरूको सल्लाहमा त्यसतर्फ मौन रहेर सरकारले जे–जे गर भन्यो त्यही गरेर रमाइरहेका छन् ।

त्यसरी संविधानविपरीत नियुक्त भएका मन्त्री पुनले आफूलाई जे मन लाग्यो त्यही गर्ने घोषणा गरेका छन् र काम पनि मनपरी गरिरहेका छन् । यहाँसम्म कि प्रेसलाई दुस्मन घोषणा नै गरिसकेका छन् । उनीबाहेक बालेन क्याविनेटमा रहेका मन्त्रीहरू उमेरले युवा छन् । प्रधानमन्त्री बालेन आफैँ युवा हुन् । उनी कसैले भनेको मान्दैनन् । जे मन लाग्यो त्यही गर्छन् ।

मिडियालाई आर्थिक नाकाबन्दी गरेर शासन सुरु गरेका बालेनले राष्ट्रपतिदेखि टे«ड युनियनसम्म कसैलाई विश्वासमा लिन सकेका छैनन् । कर्मचारी प्रशासन, शिक्षक विद्यार्थी, मजदुर डाक्टर, नर्स सबै उकुसमुकुस भएर गुम्सिएर बसेका छन् । राजनीतिक दलहरूमा मुर्दाशान्ति छाएको छ । सर्वत्र भय र त्रास छरेर शासन गरेका बालेनले आफ्ना मन्त्रीका पछाडि पनि पीएमओका प्रतिनिधि खटाएर सातो पिटेका छन् । उनले सबैलाई तर्साएर कस्तो शासन गर्न खाजेका हुन कसैले पनि भेउ पाउन सकेको छैन ।

बालेका गृहमन्त्री सुधन गुरुङ पनि यस्तै युुवा मानिन्छन् । उनी कहाँ किन के गर्न र कसका लागि हिँडिरहेका छन् उनलाई पनि थाहा नहुन सक्दछ । उनी अहिले ताईको फुरौलोजस्तो बिँड समातेर हल्लाउने जता हल्लायो त्यतै नाचिरहेका छन् । टिबेटन ह्याट लगाएर चाच्दै हिँडेका गृहमन्त्री गुरुङ सबैभन्दा बढी फिल्डमा खटिनेमा गनिन्छन् । विश्व बैंकले ‘इकोनोमिक हिट्स म्यान’का रूपमा कुभिण्डोलाई खुट्टा लगाएर सिंगारपटार गरेर प्रस्तुत गरिएका अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले संविधानमा मौलिक हक भनेर किटान गरिएको शिक्षा र स्वास्थ्यमा कर लगाएर मात्र होइन बीवाईडी भन्सार छली काण्ड गराएर रङ्ग लगाएर टाटेपाटे बाघजस्तो बनाएर डोकोले छोपेको बिरालोले घर–मालिक भात खाएर चुठ्न बाहिर निस्कँदा म्याउ गरेर आफ्नो असलियत देखाएको जस्तो गरिसकेका छन् ।

पहिलो बजेट भाषणमै युवा अर्थमन्त्री वाग्लेले छाडेको काँचो वायुले अहिले समग्र आर्थिक वातावरण नै प्रदूषित बन्न पुगेको छ । प्रधानमन्त्री बालेनको नेतृत्वको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ५० युनिटभन्दा माथि खपत गर्ने ग्राहकलाई भ्याट थुपारेर जनताको ढाड सेक्ने काम गरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपभोगको बक्यौतासमबन्धी लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न दुईखाले पत्राचार गरेको घटनाको समेत छानबिन गर्न सकेका छैनन् । तर पनि उनले बक्यौता उठाउने स्टन्ट गर्नचाहिँ छाडेका छैनन् ।

कानुन मन्त्री सोविता गौतमले पनि कानुनी सुनिश्चितता बनाउने वैधानिक अवस्था सिर्जना गर्न सकेकी छैनन् । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेको बीचमा स्याण्डवीचजस्तो बन्दै गएका छन् र परराष्ट्र नीति पनि त्यस्तै बन्दै गएको छ । भारत, चीन, युरोप अमेरिका सबै सशंकित छन् । सबैको हुन खोज्दा कसैको नहुने खतरा बढ्दै गएको छ र यस्तै अवस्थामा बालेनको टिमले वैदेशिक ऋण लिने वैकल्पिक बाटो खोज्न थालेका छन् । अहिले इकोनोमिक हिट्सम्यान बनाउन सिंगारिएका अर्थमन्त्री वाग्ले रसियन कालोधनको पासोमा पर्ने सम्भावना बढ्दै गएको छ ।

शिक्षामन्त्री सस्मित पोख्रेल युवा मात्र होइन नवयुवा हुन् तर उनले एसईईको परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई लगाइएको ‘एज बार’को अवैज्ञानिक र अव्यावहारिक प्रावधान संशोधन गर्न समेत गर्न सकेका छैनन् । सरकार नयाँ हो प्रधानमनन्त्री युवा हुन्, मन्त्रीहरू एक मात्र ‘वृद्ध बालक’बाहेक सबै युवाहरू नै हुन् । तर सरकारको प्रजातन्त्र, मानवअधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने स्वतन्त्रता, पेसागत स्वतन्त्रता, धार्मिक स्वतन्त्रताजस्ता विषयमा दृष्टिकोण के हो भन्ने स्पष्ट भएको छैन । विदेशी घुसपेठ भएको तराईको धार्मिक दंगा सेनाले बलपूर्वक नियन्त्रण गरेको छ । तर सुस्तामा भएको भारतीय हस्तक्षेप, लिपुलेकमा भारत र चीनले गरेको संयुक्त बलमिचाइँमा सरकार र सेना दुवै चुपचाप छन् । यसैले यो सरकार युवा सरकार, जोसजाँगरको सरकार होइन ।

सुशासन स्थापना गर्ने र भ्रष्टाचार रोक्ने विकास निर्माण गर्ने सरकार हो जस्तो देखिन छाडेको छ । गृहमन्त्री गुरुङ र भौतिक पूर्वाआधार मन्त्री सुनिल लम्साललाई हेर्दा हान्ने ठोक्नेबाहेक केही योजना देखिँदैन । सञ्चार र पर्यटन मन्त्रीका काम हेर्दा देख्नेले लाज मान्नुपर्ने अवस्था छ । सरकार युवाहरूको भए पनि स्प्रिट युवाको जस्तो देखिँदैन, कतै मौसमी वायुयस्तो छ, कतै काँचो वायुजस्तो दुर्गन्धित महसुस गर्न थालिएको छ ।

लेखक आर्थिक दैनिकका प्रधान सम्पादक हुन् ।  साभारः आर्थिक दैनिक अङ्कः ४९८३

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*